November 8, 2024, Friday
२०८१ कार्तिक २४

लुम्बिनीमा शाहीलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी, दुई मन्त्री अझै विनाविभागीय

बुटवल– राज्यकोषमा करोडौं आर्थिक भार पर्ने गरी मन्त्रालय संख्या बढाएको लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । पछिल्लो पटक प्रदेश प्रमुख अमिक शेरचनले गरेको हेरफेर तथा कार्यविभाजन अनुसार प्रदेशमा १३ वटा मन्त्राय हुने छन् ।

साउन २८ गते मन्त्री नियुक्त भएका अजय शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी करिब एक महिना विना विभागी मन्त्री रहेर काम गरेका थिए । मन्त्री सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई अझै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । उनीहरु दुवैजना अझै विना विभागीय मन्त्री छन् ।

Advertisement

मुख्यमन्त्री कुलप्रसाद केसीले आधा दर्जन मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका छन् । उनले भागबन्डा मिलाउन नसक्दा अझै मन्त्रीपरिषद विस्तार गर्न सकेका छैनन् । लामो समय मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै मुख्यमन्त्री केसीको कार्यक्षमतामा प्रश्न उठ्न थालेको छ ।

केसीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय आफैले सम्हालेका छन् ।

पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्रालय कृष्णध्वज खड्का, भौतिक पूर्वाधार विकास मन्त्रालय सहषराम यादवले सम्हाल्दै आएका छन् ।