January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

‘माधव-प्रचण्डले विचारको राजनीति छाडे’

बुटवल– नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपानेले प्रचण्ड र माधवले विचारको राजनीति छाडेको आरोप लगाएका छन् । रुपन्देही जिल्ला इन्चार्जसमेत रहेका न्यौपानेले विचारको राजनीति छाडेर अवसरको पछाडि कुद्ने नेताहरुका कारण कम्युनिष्ट पार्टीमा बेलाबखत समस्या आउने गरेको बताए ।

Advertisement

एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को शाखा कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड माओवादीको विचार परित्याग गरी पार्टीलाई समाप्त गर्ने दिशातर्फ लागेको बताए । माधव नेपालले जनताको बहुदलीय जनवादलाई त्यागेर प्रतिक्रियावादी शक्तिको डिजाइनमा एमालेलाई विभाजन गरी आफै समाप्त हुने दिशातर्फ गएको न्यौपानेले बताए ।

उनले एमालेलाई कार्यकर्ताले बचाएको पार्टी भन्दै नेतृत्वमा समस्या आउँदा कार्यकर्ता पंक्तिले सिंगो पार्टीलाई कमजोर हुनबाट रोकेको बताए । ओलीलाई फालेर देउवालाई प्रधानमन्त्री बनाएकोमा आलोचना गर्दै पुँजीवादको वकालत गर्ने काँग्रेस कहिल्यै समाजवादमा जान नसक्ने बताए ।

बैठकलाई संबोधन गर्दै एमाले रुपन्देहीका सचिवालय सदस्य एवं बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले पार्टीमा विभाजन आएको नभै सानो संख्या चोइटिएर गएको र यसको क्षतिपूर्ति गर्न आफूहरु तयार रहेको बताए । उनले पार्टीका सबै कमिटीहरु अव संगठन बिस्तार र सुदृढीकरणमा लाग्ने भन्दै कत्ति पनि विचलित नभै पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

बैठकमा शाखा कमिटीका अध्यक्ष भोजबहादुर बुढाथोकीले शाखा कमिटीले गरेका निर्णयहरुबारे जानकारी गराउँदै आगामी कार्ययोजना प्रस्तुत गरेका थिए भने सचिव बाबुराम बेलबासे, गुणनिधी खनाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।