April 22, 2025, Tuesday
२०८२ बैशाख ९

जसपा नेतृ भट्टराई बनिन् लुम्बिनी प्रदेशसभा सदस्य

भैरहवा – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को रिक्त लुम्बिनी प्रदेशसभा सदस्य पदमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई निर्वाचित गरेको छ ।

यसअघि समानुपातिक सांसद रहेकी कल्पना पाण्डे लम्साललाई पार्टीले कारबाही गरी हटाएको थियो । लम्साल कारबाहीमा परेपछि उनको ठाउँ रिक्त थियो । उनको ठाउँमा पार्टी नेतृ भट्टराईलाई नियुक्त गर्न जसपाले सिफारिस गरेको थियो । सोही आधारमा आयोगले भट्टराईले निर्वाचित गरेको जनाएको छ ।

Advertisement

जसपा नेपालका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य लम्सालको रिक्त भएको पदमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्मलालाई निर्वाचित गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएका छन् ।

साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार बन्दसूची उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको भदौ १० गते बैठकले रिक्त पदमा निर्वाचित गरेको उल्लेख गरेको छ । जसपाले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही गरी प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो ।

कल्पना समानुपातिका सांसद भएकाले उनको पद रिक्त भएपछि निर्मलालाई सिफारिस गरिएको थियो । उक्त सिफारिसअनुसार आयोगले निर्मला निर्वाचित भएको घोषणा गरिसकेको जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए । उनले एक हप्ताभित्र निर्मलाले सपथ लिने बताए । पार्टीले सांसद पदबाट हटाएपछि उक्त निर्णयविरुद्ध कल्पनासहित अन्य नेताहरुले सर्वोच्चमा रिट निवेदन दिएका छन् । उक्त रिट निवेदन विचाराधीन छ ।