प्रशासन निरंकुश बनेको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी अनसनमा


भैरहवा– स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल प्रशासनले स्पष्टिकरण सोधेपछि रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका कर्मचारीले बुधबारबाट आमरण अनसन बस्न सुरु गरेका छन् । मंगलबार अस्पताल विकास समितिले कोरोना महामारीकाबेला अस्पताललाई आर्थिक तथा अक्सिजन र सिलिन्डर सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको थियो । उक्त सम्मानको विषयलाई लिएर अस्पतालका कर्मचारीले सामाजिक संजालमार्फत् विरोध गरेका थिए ।
कर्मचारीले कोरोना महामारीमा रातदिन खटेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन गर्नुको सट्टा दाता रिझाउन लागेको भन्दै आलोचना गरेका थिए । त्यसपछि अस्पताल प्रशासनले दुई जना अहेव र एक जना चिकित्सकलाई स्पष्टिकरण सोधेको थियो । अस्पताल प्रशासनले स्पष्टिकरण सोधेपछि कर्मचारी आन्दोलित भएका हुन् ।
अस्पताल प्रशासनले सामाजिक संजालमा सम्मान कार्यक्रमलाई लिएर टिप्पणी गरेको भन्दै डाक्टर संजीवबाबु क्षेत्री, अहेव गोपाल उपाध्याय र शशिकान्त उपाध्यायलाई स्पष्टिकरण सोधेको थियो । ‘महामारीमा खटेका स्वास्थ्यकर्मीलाई बेवास्ता गरी सम्मान कार्यक्रम राखिएको भनेर हामीले अस्पताल कर्मचारीको आन्तरिक भाइबर गु्रपमा कुरा राखेका थियौं’, भीम अस्पताल विकास समिति कर्मचारी एशोसिएसनका अध्यक्ष गोपाल उपाध्यायले भने, ‘आफ्नो विचार राख्ने स्वतन्त्राविपरीत प्रशासनले स्पष्टिकरण सोधेको छ । यसैको विरोधमा हामी अनसनमा बसेका हौं ।’
कोरोना महामारीमा काम गरेको भत्तासमेत नदिएको र सामान्य विषयलाई लिएर प्रशासनले निरंकुशता लाद्न खोजेको आरोप उनले लगाए । आमरण अनसनमा ३० बढी चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगीलगायतका कर्मचारीले समर्थन जनाएका छन् । आन्दोलित कर्मचारीले न्यूनतम पारिश्रमिकसमेत नदिएको, १९ हजार तलब भए पनि १२ हजार मात्रै दिएको, करारका कर्मचारीलाई जागिरबाट निकाल्ने भन्दै पटक–पटक धम्की दिएको आरोप लगाएका छन् ।
‘हामीले तलब बढाउन पर्यो भनेर माग गर्दा जागिरबाटै निकाल्ने धम्की कयौंपल्ट आयो’, उपाध्यायले भने, ‘जायज माग राख्दा उल्टै धम्की सहनु परेको छ ।’ आन्दोलित कर्मचारीले मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताको राजीनामा समेत माग गरेका छन् । माग पूरा नहुँदासम्म अनसन जारी रहने स्वास्थ्यकर्मीले बताएका छन् । ‘जबसम्म माग पूरा हुँदैन हामीले आमरण अनसन तोड्दैनौं’, अहेब शशिकान्त उपाध्यायले भने, ‘यहाँको प्रशासन निरंकुश छ, कर्मचारीका कुरा सुनिँदैन, गुनासो गर्दा स्पष्टिकरण सोधिन्छ ।’
कोरोना महामारीमा जिल्लामै उत्कृष्ट ठहरिएको यो अस्पतालमा दुई महिनादेखि स्वास्थ्यकर्मीले भत्ता पाएका छैनन् । यसबारे प्रशासनलाई जानकारी गराउँदा बेवास्ता हुँदै आएको उनीहरुको आरोप छ । स्वास्थ्यसेवा प्रभावित नहुने गरी अनसन बसेका कर्मचारीले माग पूरा नभए सम्पूर्ण काम ठप्प पारेर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
‘हाम्रा माग पूरा नभए सेवा ठप्प पार्छौं’, उनले भने, ‘सधैं अन्याय सहेर बसिँदैन ।’ अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले करारका कर्मचारीले आफूहरुले भनेअुसार प्रशासन चल्नुपर्छ भनेर दवाव दिँदै आएको र सम्मानको विषयलाई लिएर कर्मचारीको आचरणभन्दा बाहिर गएर टिकाटिप्पणी गरेकाले स्पष्टिकरण सोधेको जनाए ।
प्रतिकृया दिनुहोस्