संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण


बुटवल– रुपन्देही सामाजिक संजाल अष्टे«लियाले बुटवलको सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा अस्पताल) मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसीयू कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ ।
संजालले ७ लाख ४६ हजार ५० रुपैयाँ वरावरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतिक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिए । आइतबार एक कार्यक्रमबीच संजालका प्रतिनिधि काँशीनाथ पोख्रेलले अस्पतालका मेसु डा.राजेन्द्रप्रसाद वस्याललाई मोनिटर हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अस्पतालका मेसु डा.वस्यालले जापानी जनताको सहयोगमा निर्माण भएको अस्पताल अहिले आन्तरिक तथा वाह्य सहयोगबाट संचालनमा रहेको बताए । उनले अष्ट्रेलियामा रहेका नेपालीहरुबाट अस्पतालमा सहयोग पाउँदा निकै खुसी लागेको भन्दै धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा संजालका अध्यक्ष ईश्वर पोखरेलले विरामीले उपचार सेवा पाउने संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एकएक रुपैयाँ गरी संकलन गरिएको सहयोग राशीले विरामीको उपचारमा सहयोग पु्ग्ने उनको विश्वास छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा संजालका महासचिव दिवाकर काफ्लेले संजालले अहिलेसम्म गरेको कार्यको वारेमा जानकारी दिँदै कर्मका लागि विदेशी भूमिमा रहे पनि आफ्नो मुलुकको माया लागेर नै सहयोग कार्यलाई जारी राखिएको बताए ।
आम्दा अस्पतालका प्रशासन प्रमुख धु्रव श्रेष्ठको संचालनमा भएको उक्त कार्यक्रममा जुम मार्फत अस्ट्रेलियाका संजालका पदाधीकारी तथा सदस्यहरु जोडिएका थिए । सन २०१५ मा स्थापना भएको उक्त संजालले कोभिड प्रभावितहरुलाई राहत वितरण, तिलोत्तमामा यौन हिंसामा परेका वालिकालाई सहयोग, क्यान्सर पीडितहरुलाई सहयोग, भूकम्पपीडितहरुलाई एनआरएन मार्फत सहयोग, मणिग्रामस्थित आत्मशान्ति अनाथ आश्रम, नेपाल अपांग आश्रममा सहयोग गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्