September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानद्वारा गण्डकी सरकारलाई स्वास्थ्य सामग्री प्रदान

भैरहवा – गण्डकी प्रदेश सरकारलाई भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले करिब ८५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्मबहादुर केसीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानका निर्देशक केसीका अनुसार आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गरेको काम प्रशंसनीय रहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री गुरुङले संस्थाले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराएको सामाग्रीले प्रदेशका विभिन्न क्षेत्रमा रहेका संक्रमितहरुको उपचारमा ठुलो सहयोग पुग्ने धारणा राखिन् । आगामी दिनमा पनि संस्था र स्वास्थ्य मन्त्रालयबीच सहकार्य गरी अघि बढ्न आफू तयार रहेको उनले बताइन् ।