March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । दिउँसो एक बजे बोलाइएको बैठक एमालेले अवरोध गरे पनि केही समयमा बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने बताइएको छ ।

Advertisement

प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन् । सो बैठकमा केही विधेयकहरु पेश गरी पुनः साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । बैठक अझै बसेको छैन ।

Advertisement

प्रदेशसभा सचिवालयका अनुसार अब बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनेछन् । लुम्बिनी प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्षी दल एमालेले स्वतन्त्र सांसद अजय शाही र माओवादी केन्द्र रोजेकी विमला वलीलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले दुबै सांसद एमाले नभएकाले पदमुक्त गर्न अस्वीकार गरिदिएका छन् । एमालेले उनीहरुलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ । मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१ सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९,माओवादी केन्द्रका १८ (सभामुख वाहेक),जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सांसद छन् ।

बैठक अबरुद्ध


नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरोध गरेको छ । आफ्नो पार्टीले कारवाही गरेका २ सांसदको बारेमा सूचना दिनुपर्ने माग गर्दै सदनमा नाराबाजीसहित अवरोध गरेको हो । एमालेले संसदको रोष्टम घेराउ गरेर नारा लगाएको थियो ।

एमालेले कारवाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई कारवाहीको सूचना टाँस गरी पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान लिएको छ । प्रतिपक्ष एमालेको अवरोधपछि नवौं अधिवेशनका कुनै पनि बैठकहरु पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् ।