October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने एमालेको अडान

बुटवल– नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने अडान राखेको छ । सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पुरा नभएसम्म बैठक चल्न नदिने अडान दोर्याएको हो ।

एमाले प्रदेशसभा लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पठाएको पत्रको प्रतिक्रिया स्वरुप फेरि अर्को पत्र बुझाएको र बैठक चल्न नदिने बताए । आफ्नो पार्टीले कारवाही गरेका २ जना सांसद पदमुक्त भएको सूचना प्रदेशसभाले नदिँदासम्म बैठक चल्न नदिने उनले बताए ।

‘हामीले सभामुखले पठाएको पत्र आचरणविपरीत छ भनेर ध्यानाकर्षण गराउन फेरि पत्र बुझाएका हौं’, उनले भने, ‘पार्टीको कारबाहीमा परिसकेका दुई जना प्रदेशसभा सदस्यलाई कारवाही गर्नुपर्ने हाम्रो अडान यथावत छ ।’

तत्कालीन नेकपाबाट निर्वाचित विमला कुमारी खत्री वली र सूर्य चिह्नबाट निर्वाचित अजय शाहीलाई एमालेले आफ्नो सांसद भएको दावी गर्दै पदशमुक्त गर्न प्रदेशसभालाई दवाव दिइरहेको छ । यस अघि भदौ १ गते एमालेले सभामुखलाई पत्र बुझाउँदै प्रदेश सांसद शाही र वलीलाई कारवाही गरिएको सूचना दिन माग गरेको थियो ।

सभामुखले भने आइतबार कारवाही गर्न नमिल्ने जवाफ फर्काएका थिए । सभामुखको प्रतिक्रियापछि एमालेले दोस्रो पत्र बुझाएको हो । भदौ १ नवौं अधिवेशन सुरु भएपछि लगातार २ वटा बैठक एमालेले अवरुद्ध गरेको थियो । ३ गते तय भएको बैठक भने आजसम्मका लागि सूचना टाँस गरेर स्थगित भएको थियो । अहिले बैठक बस्ने तयारी भइरहेको छ । यद्यपि आज पनि एमालेले अवरोध गर्ने जनाएको छ ।