नेपालले नयाँ पार्टी खोल्नु दुःखद् : पोखरेल


भैरहवा– निवर्तमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै त्यसमा विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको बताएका छन् ।
उनले दुई पक्षीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध रहेको समेत बताएका छन् । पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच सहमतिको मस्यौदा तयार पार्न गठित कार्यदलका सदस्यसमेत थिए ।
नेता पोखेलले लेखेका छन्, ‘विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुकै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाऊँ ।’
दुवै पक्षका नेताहरुले सहमतिका १० बुँदा तयार पारेर नेतृत्वलाई बुझाए पनि ओली र नेपालबीचको टकरावले सो सहमति अलपत्र परेको थियो । सहमतिलाई अपनत्व नलिएका नेता नेपालले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टी ‘एमाले समाजवादी’ दर्ता गर्न निवेदन दिएका छन् ।

प्रतिकृया दिनुहोस्