April 18, 2025, Friday
२०८२ बैशाख ५

भदौ सातसम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल– बिहीबार दिउँसो एक बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ । नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेशसभा सचिवालयले सूचना निकालेर जानकारी गराएको छ ।

यसअघि प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार दुई दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । एमाले अवरोध पछि मंगलबार र बुधबार केही समयमात्रै बैठक बसेर स्थगित भएको थियो । विना विभागीय मन्त्रीसमेत रहेका प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको हो ।

Advertisement

आज पनि विपक्षीको अवरोध हुने अनुमानबीच सूचना निकालेर प्रदेशसभा बैठक स्थगित गरिएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिइने बताए । सभामुख पूर्णबहादुर घर्तीले एमालेको पत्रअनुसार सत्यतथ्य बुझेर प्रशासनिक प्रकृया शुरु गरिसकेको हिजो बैठकमा जानकारी गराएका थिए ।

प्रदेश सभा संचालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरे पनि सहमति जुट्न सकेको थिएन । नेकपा विभाजनपछि गत बैशाख १९ गते माओवादी केन्द्र रोजेकी बिमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख)बाट निर्वाचित भएकी थिइन् ।

सूर्य चिह्नबाट चुनाव जितेका शाही हाल केसी नेतृत्वको सरकारमा मन्त्री छन् । हृदयेश त्रिपाठी समूहका उनले आफू स्वतन्त्र सांसद भएको दाबी गर्दै आएका छन् । वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरे पनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।