एमालेको नाराबाजीपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित


बुटवल– लगातार दोस्रो दिन पनि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक सुरु हुनवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजीसहति विरोध गरेपछि बैठक स्थगित भएको हो । हिज पनि एमालेको अवरोधले बैठक स्थगित भएको थियो ।
एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरेका हुन् । एमालेले पार्टीले कारबाही गरेका सांसदहरु अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न माग गर्दै हिजोदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
बैठक सुरु हुनेवित्तिकै एमाले सांसद हरि रिजालले पार्टीले कारबाही गरिसकेका शाही र वलीलाई पदमुक्त गरिएको पत्र पढेर सुनाउन सभामुखलाई आग्रह गरेका थिए । पत्र नपढ्दासम्म एमालेले सदन चल्न नदिने उनले बताए । सभामुखले पत्र नपढेपछि एमालेले संसद अबरुद्ध गरेको हो ।
सूर्य चिह्नबाट निर्वाचित नवलपरासीका शाही र तत्कालीन नेकपाबाट निर्वाचित दाङकी वलीलाई एमालेले कारबाही गरेको छ । तर, शाहीले आफू स्वतन्त्र भएको बताउँदै आएका छन् । वलीले भने आफू तत्कालीन नेकपाबाट निर्वाचित भएको र अहिले माओवादी केन्द्र रोजेको जनाएकी छन् ।
दुवै सांसदले एमालेको कारबाहीको अर्थ नरहेको बताएका छन् । शाही लुम्बिनी सरकारको विना विभागीय मन्त्री छन् । वली पनि मन्त्री बन्ने लाइनमा छिन् । एमालेको नाराबाजी पछि संसद बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन् । उनले संसदको नियमानुसार नै कारबाही अघि बढ्ने बताएका थिए ।
प्रतिकृया दिनुहोस्