संसद बचाउन अध्यादेशमा हाम्रो आलोचनात्मक समर्थन रहन्छ : केसी
भैरहवा– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई–दुईपल्ट घाँटी निमोठेको संसद बचाउन ल्याइएको अध्यादेशमा पार्टीको आलोचनात्मक समर्थन रहने बताएका छन् ।
भैरहवामा पब्लिक कुरासँग कुराकानी गर्दै अध्यक्ष केसीले भने, ‘राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउनु गलत हो । तर, यो सरकारलाई निरन्तरता दिन र संसद बचाउन अध्यादेश आवश्यक थियो ।’ अध्यक्ष केसीले पहिला एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश र अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश भिन्न किसिमको भएको बताए ।
‘ओलीले आफ्नो बहुमत हुँदा–हुँदै गलत मनसायले संसद विघटन गरे । दल फुटाउन अध्यादेश ल्याए, अहिले काँग्रेस एक्लैको बहुमत छैन । त्यसैले पाँच वर्षसम्म यो संसद बाँच्नुपर्छ भन्ने उद्देश्यले ल्याइएको अध्यादेशमा हाम्रो असहमतिबीच आलोचनात्मक समर्थन रहेको छ’, उनले भने ।
अध्यक्ष केसीले संसदलाई पुनर्जीवन दिन एमाले नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताउँदै उनीहरुको सम्मानका लागि पनि अध्यादेश आएको बताए । मंगलबार प्रधानमन्त्री देउवाले २० प्रतिशतले दल विभाजन गर्न पाउने गरी राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएका थिए । अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।
संविधानको भावना र मर्मविपरीत अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवाले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष र एमालेको नेपाल–खनाल पक्षलाई सहज हुने गरी अध्यादेश ल्याएका हुन् ।
केसीले अवस्था र वस्तु स्थितिअनुसार अध्यादेश ल्याइएको जनाए । ‘हाम्रो पार्टीले हिजो साँझ भर्चुअल बैठक गरेर यो अध्यादेशको विरोधकाबीच पनि समर्थन गरेको छ’, अध्यक्ष केसीले भने, ‘जसरी पनि पाँच वर्ष संसद बाँच्नुपर्छ भन्ने मनसाय प्रधानमन्त्रीमा देखिन्छ ।’ उनले अहिले कोरोना महामारीको विषम् परिस्थितिमा मुलुक चुनावमा जान नहुने बताए ।
‘अहिले चुनावमा जानु हुँदैन । महामारीले मुलुक आक्रान्त छ । राज्यकोषमा पैसा छैन । सरकारको ध्यान महामारीबाट जनतालाई बचाउनमा केन्द्रित हुनुपर्छ’, उनले भने, ‘अध्यादेश नआएको भए मुलुक चुनावमा जाने स्थिति आउँथ्यो । परिस्थितिअनुसार अध्यादेशलाई ठीकै मान्नुपर्छ ।’
प्रतिकृया दिनुहोस्