April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

जेसीजद्वारा भैरहवामा निःशुल्क दन्त शिविर

भैरहवा– जेसीआई सिद्धार्थ नेपालको आयोजनामा भैरहवामा दन्त शिविर सम्पन्न भएको छ । जेसीज सप्ताह–२०२१ अन्तर्गत मंगलबार दन्त शिविर आयोजना गरिएको हो । सप्ताहको पाँचौ दिन युनिभर्सल मेडिकल कलेज भैरहवाको प्राविधिक सहयोगमा सिद्धार्थनगर–९ स्थित भानु माविमा निःशुल्क दन्त शिबिर सम्पन्न भएको जेसीजका वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए ।

Advertisement

निःशुल्क दन्त शिविरमा एक सय जनाको दाँत परीक्षण गरिएको अध्यक्ष ज्ञवालीले बताए । यस्तै, शिविरमा एक सय जनाको सुगर परीक्षणसमेत गरिएको छ । शिविरमा ५० जनाको दाँत निकालिएको थियो । ‘हामाीले सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर राखेका हौं, यसबाट छोटो समयमा धेरै जना लाभान्वित हुनुभयो’, अध्यक्ष ज्ञवालीले भने, ‘आउँदा दिनमा पनि आवश्यकताका आधारमा अन्य ठाउँमा पनि शिविर संचालन गर्छौं ।’

Advertisement

प्रमुख अतिथि जेसीआई सिद्धार्थका मानार्थ सदस्य डा.गोबिन्द बल्लभ भट्टले सधै समाजमा नयाँ र रचनात्मक काम गर्दै आएको भन्दै संस्थाको प्रशंसा गरे । ‘सधै फरक, नयाँ र प्रत्यक्ष नागरिकले लाभ लिने काम जेसीजले गर्दै आएको छ’, उनले भने, ‘दन्त शिविरबाट धेरै विपन्न वर्गले पनि लाभ लिनुभएको छ । समाजमा खोलिएका संस्थाहरुले यस किसिमका पुण्यका काम गर्दै जानुपर्छ ।’

सिद्धार्थनगर–९ का वडाध्यक्ष शेषकान्त भण्डारीले समाजिक क्षेत्रमा क्रियाशील जेसीजले दन्त शिविर राखेर प्रशंसनीय काम गरेको बताए । उनले कोरोना महामारीले अस्पतालसम्म पुग्न समस्या भइरहेकाबेला वडामा राखिएको दन्त शिविरबाट धेरै नागरिक लाभाविन्त भएको भन्दै खुशी व्यक्त गरे । आगामी दिनमा पनि यस्ता किसिमका स्वास्थ्यसँग सम्बन्धित शिविरहरु वडामा संचालन गर्न उनले जेसीज सदस्यहरुलाई आग्रह गरे ।

कार्यक्रम संयोजक केशव भण्डारीले शिविरमा उत्साहजनक सहभागिता रहेको बताए । अनित गुप्ताको संचालनमा भएको कार्यक्रममा अंकित शर्माले आस्था पाठ गरेका थिए । कार्यक्रममा युसिएमएसका तेजकुमार केसी, जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।