April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

लुम्बिनीमा शाही र वलीलाई सांसदबाट हटाउन सभामुखलाई एमालेको पत्र

भैरहवा– नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र बिमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ । पार्टीबाट कारबाही गर्दै सांसदबाट हटाउन एमालेले पत्र बुझाएको हो ।

Advertisement

मंगलबार सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए । ‘सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सिफारिस गरेका हौं’, ढकालले भने ।

Advertisement

शाही लुम्बिनी प्रदेश सरकारमा विना विभागीय मन्त्री समेत छन् । उनी २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट निर्वाचित भएका थिए । उनी सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए । वली २०७६ मा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजन पछि वलीले माओवादी रोजेकी छन् । शाहीले आफुलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने वलीले माओवादी प्रवेश गरेको बताएकी थिइन् ।