March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मलाई एमालेको ह्वीप लाग्दैनः मन्त्री शाही

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री अजय शाहीले आफूलाई एमालेको ह्वीप नलाग्ने दावी गरेका छन् । ‘म स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप लाग्दैन’, उनले भने, ‘त्यसैले स्पष्टिकरण सोध्नुको कुनै अर्थ छैन ।’

Advertisement

चार दलीय गठबन्धनसँग मिलेर कुलप्रसाद केसी नेतृत्वको सरकारमा शाही मन्त्री बनेका थिए । मन्त्री बनेपछि एमालेले साउन २८ गते पत्र काटेर स्पष्टिकरण सोधेको थियो ।

Advertisement

२०७४ को निर्वाचनमा एमाले र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच भएको २ बुँदे सहमती अनुसार उनी नवलपरासी क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका थिए । त्यसबेला उनी सूर्य चुनाव चिन्हबाट निर्वाचन लडेर निर्वाचित भएका थिए ।

केसी नेतृत्व सरकारमा मन्त्री भएपछि सूर्य चुनाव चिन्हबाट निर्वाचित भएर गठबन्धक सरकारमा सहभागी भएको भन्दै एमालेले कारबाहीका लागि शाहीले स्पष्टिकरण सोधेको थियो । उनले भने, ‘दुई बुँदे सहमती सम्झौता अनुसार मैले सूर्य चिन्ह प्रयोग गरि स्वतन्त्र रुपमा निर्वाचनमा होमिएर निर्वाचित भएको हुँ ।’

त्यसैले आफू स्वतन्त्र सांसद भएको उनले जिकिर गरे । स्वतन्त्र निर्वाचित प्रदेश सांसदलाई कुनै पार्टी विशेषको ह्वीप नलाग्ने कुरा राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले व्यवस्था गरेको उनले बताए ।

आफूमाथि स्पष्टीकरण सोधेपछि प्रदेश सरकारका विना विभागीय मन्त्री शाहीले आज विज्ञप्ती जारी गर्दै आँफू स्वतन्त्र सांसद भएकाले स्पष्टीकरणको कुनै औचित्य नभएको बताएका हुन् । ‘मैले नेकपा एमाले पार्टी सदस्यता लिएको छैन । तसर्थ मलाई राजनीतिक पार्टीको ह्वीप लाग्दैन’, उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने शाहीको सांसद पद जाने गरि कारवाही हुने बताए । ‘सूर्य चिन्ह एमालेको हो, उहाँ सूर्य चिन्हबाट निर्वाचित हुनुभएको हो । अहिले स्वतन्त्र भन्न मिल्दैन’, उनले भने, ‘उहाँलाई कारबाही हुन्छ ।’