मैत्रीपूर्ण फुटसलमा जेसीआई सिद्धार्थ विजयी


भैरहवा– यहाँ सम्पन्न मैत्रीपूर्ण फुटसलमा जेसीआई सिद्धार्थ नेपाल विजयी भएको छ । जेसीजले लुम्बिनी प्रेस क्लब, भैरहवालाई ११–६ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
आइतबार भैरहवामा सम्पन्न मैत्रीपूर्ण खेलमा जेसिजका कृतेश श्रेष्ठले सर्वाधिक ६ गोल गरे । यस्तै, अनमोल धितालले ४ र कमल जीसीले एक गोल गरे । पत्रकारहरुको तर्फबाट स्वस्तिक श्रेष्ठले ३, दिनेश श्रेष्ठले २ र डिबी सुस्लिङले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलमा प्रेस क्लबका खेलाडीले कयौं अवसर गोलमा परिणत गर्नबाट चुके ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै जेसीआई सिद्धार्थ, नेपालका मानार्थ सदस्य एवं उद्योगी ध्रुवकुमार श्रेष्ठले खेलले दुई संस्थाबीच भातृत्व विकास गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले दुई संस्थाबीचको सम्बन्ध प्रगाढ बनाउँछ नै स्वास्थ्यका लागि पनि खेलकुद महत्वपूर्ण मानिन्छ । त्यसैले यस किसिमका खेलकुद भइराख्नुपर्छ ।’

उनले लामो समय सामाजिक क्षेत्रमा क्रियाशील रहेको जेसीजको आफ्नै गौरवमय इतिहास रहेको जनाउँदै अझै रचनात्मक कार्यक्रम गर्न सुझाव दिए । ‘सिद्धार्थ जेसीजले यस क्षेत्रमा थुप्रै सामाजिक उत्तरदायित्वका काम गरेको छ । यसलाई निरन्तरता दिनुपर्छ । मबाट हुने आवश्यक सहयोग गर्न तयार छु’, उनले भने ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले विगतदेखि नै प्रेस क्लबसँग मैत्रीपूर्ण फुटसल खेल्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए । ‘खेलमा हारजित स्वभाविक हो’, उनले भने, ‘सबैभन्दा ठूलो हामी दुई संस्थाका सदस्यहरुबीच बन्धुत्व र भातृत्व विकास भएको छ । सहयोगात्मक भावना बढेको छ ।’
जेसीआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष मंगल भण्डारीले खेलकुदले स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रम संयोजक ओजश शर्माको स्वागत तथा प्रमोद रिजालको संचालनमा भएको कार्यक्रममा आस्था पाठ राजु शर्माले गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, मानार्थ सदस्यहरु, बोर्डका पदाधिकारीहरु, साधारण सदस्यहरु, पर्यवेक्षक सदस्यहरु, सिद्धार्थ लेडी जेसीजका पूर्व अध्यक्षहरु, बोर्डका सदस्यहरु लगायतको सहभागिता रहेको महासचिव सागर पोखरेल बताए ।

प्रतिकृया दिनुहोस्