March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनीका सांसद पन्थी र घर्ती माधव समूहमा खुले

भैरहवा– लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती नेकपा एमालेको माधव कुमार नेपाल समूहमा खुलेका छन् । एमालेका यी दुईजना सांसद यसअघि नेपाल समूहमा भए पनि खुलेर गतिविधिमा सक्रिय थिएनन् ।

Advertisement

शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रुपमा माधव समूहमा खुलेका थिएनन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् । लुम्बिनी प्रदेश सभामा एमालेसँग ३७ सांसद छन् ।

Advertisement

२ जना नेपाल पक्षमा खुलेपछि ओली पक्षसँग ३५ सांसद मात्रै छन् । सांसद पन्थीले आफू सुरुदेखि नै माधव नेपाल समूहमै रहेको बताए । एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर बहिर्गमन भएसँगै उनीहरु नेपाल समूहमा खुलेका हुन् । नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका थिए ।

‘पुस ५ पछि म निरन्तर नेपाल समूहमै छु’, सांसद पन्थीले भने, ‘हाम्रो चाहना लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार नढलोस् भन्ने थियो । त्यसैले हामी सरकार जोगाउन लागेको हौं तर पहिलादेखि नै हामी माधव समूहमै थियौं ।’
शनिबार बुटवलमा सम्पन्न माधव समूहको रुपन्देही जिल्ला कमिटी बैठकले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकाले पार्टी एकताका लागि नैतिकताका आधारमा केपी ओलीले राजीनामा दिनुपर्ने माग गरेको छ । ‘राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको छ, एक मतले हामीले यो निर्णय गरेका हौं’, नेकपा एमाले माधव समूहका रुपन्देही अध्यक्ष राजु गुरुङले भने ।

नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष ओलीले राजीनामा दिनु पर्ने माग गरेको हो । यो समूहको बैठकले पालिकास्तरमा र जनवर्गीय संगठनको कमिटी निर्माण भदौ १५ भित्र र भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरेको नेकपा एमाले माधव समूहका रुपन्देही उपसचिव सिद्धिचरण भट्टराईले जानकारी दिए ।