प्यूठान दुर्घटनामा घाइते परियारको मृत्यु


गुल्मी– प्यूठान भएको जिप दुर्घटनामा परी घाइते भएका सन्दीप परियारको मृत्यु भएको छ । गत वैशाख १ गते गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्युठानको स्वर्गद्वारी नगरपालिका–३, रुमालेमा लु१ज १६५५ नम्बरको जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महिनापछि मृत्यु भएको भएको हो । मल्लरानी गाउँपालिका वडानम्बर–३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी शाखामा खरिदार पदमा कार्यरत थिए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले उपचारकै क्रममा परियारको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा गम्भीर घाइते परियारसहित ६ जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो । गम्भीर घाइतेमध्ये पाँच जना भने उपचारपछि घर फर्किसकेका छन् ।
जिप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट करिब १५० मिटर तल खसेको थियो । घाइतेहरुले भने जिप बाटोमा पटक–पटक बिग्रेर बनाउँदै गएको बताएका थिए । दुर्घटनामा परेर जिल्ला प्रशासनका कार्यालय गुल्मीमा कार्यरत चार जना कर्मचारी र चालक गरी पाँच जनाको मृत्यु भएको थियो । जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस्