January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

सिद्धार्थनगरमा मेलमिलापकर्ताहरुलाई सपथ

भैरहवा – सिद्धार्थनगर नगरपालिकाले मेलमिलापकर्ताहरुलाई सपथ गराएको छ । नगरपालिकाले संचालन गरेको मेलमिलापसम्बन्धी तालिम लिएका मेलमिलापकर्ताहरुलाई सपथ गराइएको हो ।

Advertisement

शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रममा नगर उप–प्रमुख एवं न्यायिक समिति संयोजक उमा काफ्लेले सपथ गराएकी हुन् । सामुदायिक मेलमिलापसम्बन्धी प्रक्रियाको सिलसिलामा कुनै पक्षप्रति मरमोलाहिजा नराखी, पक्षपात नगरी, गोपनीयता र निष्पक्षता कायम गर्दै न्यायिक प्रक्रियाप्रति सम्मान तथा समपर्णको भावना राख्न सपथ गराइएको हो ।

यस्तै, नेपालको संविधान, मेलमिलाप सम्बन्धी ऐन–२०६८ तथा मेलमिलाप सम्बन्धी नियमावली–२०७०, स्थानीय सरकार संचालन ऐन–२०७४ अधिनमा रहेर मेलमिलापकर्ताको काम गर्न सपथ ग्रहणले सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख हरिप्रसाद अधिकारी प्रचलित ऐन र कानूनको आधारमा रहेर आफूलाई जुनसुकै बेला दिइने जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

उपप्रमुख उमा काफ्लले आफ्नो गाउँ ठाउँको समस्या समाधान गर्न मेलमिलापकर्ताहरुको भूमिका अहम् रहने भएकाले सोहीअनुसार काम गर्न आग्रह गरिन् । यसअघि असार महिनामा नगरपालिकाका ३३ जना स्थानीयलाई मेलमिलापसम्बन्धी ८ दिनको तालिम दिएको थियो ।

तालिममा सहभागीहरुलाई शुक्रबार सपथ गराइएको हो । कार्यक्रम न्यायिक समिति सदस्य उमेश थापाको स्वागत तथा नगरपालिका मेलमिलाप समिति संयोजक भीष्मराज पन्थीको संचालनमा भएको थियो ।