June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

‘नो मास्क, नो मुभमेन्ट’मा प्रहरीसँग लायन्स ओमसतिया

भैरहवा– लायन्स क्लब अफ ओमसतिया ग्रिन सिटीले नेपाल प्रहरीसँगको सहकार्यमा ‘नो मास्क, नो मुभमेन्ट’ अर्थात् मास्क नलगाई नहिंड्नु कार्यक्रम सुरु गरेको छ ।

Advertisement

ओमसतिया–४, बालपुरबाट आइतबार कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम शुभारम्भ गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले महामारी बढीरहेको बेला लायन्सले सुरु गरेको प्रयास सहरानीय भएको बताए । उनले भने, ‘प्रहरीसँग हातेमालो गरेर क्लबले सामाजिक सचेतनाको कार्यक्रम गर्नु प्रशंसनीय छ । यसले महामारी नियन्त्रणमा ठूलो सहयोग पुग्ने छ ।’

लायन्स क्लबका डिस्ट्रिक ३२५ बी टु नेपालका एक्जुकेटिभ चिफ महेशचन्द्र थापाले सामाजिक क्षेत्रमा काम गर्ने जुन मर्मकासाथ क्लब खोलिएको थियो, सोहीअनुसार काम अघि बढाउनु पर्ने बताए । उनले विश्व नै आक्रान्त परिरहेको यो अवस्थामा लायन्स ओमसतियाले यहाँका नागरिकलाई सचेत गराई महामारी नियन्त्रणमा राज्यसँग हातेमालो गरेको भन्दै सह्राना गरे ।

‘यस्ता सचेतना नागरिकमा चेतनास्तर बृद्धि हुन्छ । हामी नागरिक आफै सचेत भयौं भने महामारीसँग जुध्न सजिलो हुन्छ’, उनले भने, ‘क्लबले सचेतनाका कार्यक्रम ग्रामीण क्षेत्रमा अझै धेरै गर्नुपर्छ ।’

क्लबका अध्यक्ष मोहित यादवले पछिल्लो पटक महामारी बढीरहेको जनाउँदै सचेत रहन सबैलाई आग्रह गरे । उनले क्लबको सानो प्रयासले कयौं नागरिकलाई महामारीबाट बचाउन र सजग रहन सिकाउन सहयोग पुग्ने बताए । ‘प्रहरीसँग मिलेर नागरिक चेतनाका कार्यक्रम गर्न पाउँदा खुशी लागेको छ’, उनले भने, ‘यस्ता कार्यक्रमलाई आगामी दिनमा हामीले थप प्रभावकारी बनाउँदै लैजानेछौं ।’

कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ बी टु नेपालका डेपुटी सेक्रेटरी विजय पाण्डे, लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीका अध्यक्ष गोविन्दप्रसाद गिरी, प्रहरी चौकी बगाहाका प्रमुख पवन जिसी लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।