January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

‘नेपाल मास्क अभियान’ आजबाट सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सुरु गरेको हो। 

Advertisement

मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान चलाइएको जानकारी दिएको छ। ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा पनि अभियानका लागि तय गरिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित  गर्ने ‘नेपाल मास्क अभियान सञ्चालन गरिएको जानकारी दिए। 

उनले जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु भएको बताए।

‘महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ’, उनले भने, ‘सबै नेपालीलाई महामारी नियन्त्रणमा मास्कको भूमिकाबारे जनचेतना जगाउन आवश्यक छ।’ 

सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ। अभियान अन्तरगत विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन हुनेछ।

स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा राधिका थपलियाले मास्कबारे जनचेतना मात्र नभइ मास्कले मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान नै चलाउन आवश्यक रहेको बताइन्। उनले मास्कलाई सही तयारीले लगाउन सिकाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिइन्। 

‘मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ’, उनले भनिन्, ‘यसपटक मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न परेको हो।’

स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउने छन्। उनका अनुसार स्वास्थ्य स्वयमसेविकामार्फत गाउँटोलमा मास्कको महत्वबारे टोलटोलमा सिकाइने छ। सात दिनसम्म मास्कको महत्व र लगाउने तरिका सिकाइने छ।