April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई विपक्षीको ध्यानाकर्षण

बुटवल- लुम्बिनी प्रदेशमा विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमत रहेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

Advertisement

शेरचनलाई स्वागत गर्न पुगेका विपक्षी दलहरू नेपाली काँग्रेस , माओवादी, जसपा र जनमोर्चाका सांसदहरूले सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएको जनाएका छन् ।

Advertisement

प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्नेमा सामान्य संवैधानिक प्रक्रिया पनि पुरा नगरी सरकार चलाउनुभएको छ ।’

यस्तै वैशाख १९ गते सांसदमा प्रस्तुत अविश्वासको प्रस्ताव सामना नगरी हठात् संसद् अधिवेशन अन्त्य गरी आफै मुख्यमन्त्री नियुक्तिको पत्र लिएको नेपाली काँग्रेस संसदीय दल नेता वीरेन्द्र कनौडियाले बताए । उनले संविधानको १६८ (१) अनुसार तीन जना प्रदेश सभा सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप लगाए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि संसद् चलिरहेका वेला हतार अन्त्य गरेर अध्यादेशबाट लिएर मुख्यमन्त्रीले गलत काम गरेको उनले बताए । प्रदेश प्रमुखलाई संविधान र कानुनको मर्म अनुसार प्रक्रिया थाल्नका लागि विपक्षी गठबन्धन दलहरूले अनुरोध गरेका छन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानैडिया , माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सहषराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसीसहित विपक्षी दलका प्रदेश सभा सदस्यहरू प्रदेश प्रमुख कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएक छन् ।

लुम्बिनी प्रदेशमा विपक्षी दलहरू आफूसँग बहुमत रहेको दाबी गरेका छन् । जसपाले आफ्ना तीन सांसदलाई कारबाही गरेपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका छन् । उनका पक्षमा ३८ सांसद मात्रै छन् भने विपक्षीमा ४१ छन् ।