March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लुम्बिनीमा सत्ताको खेल : सांसद खत्री सम्पर्कबिहीन

भैरहवा – लुम्बिनी प्रदेशमा सत्ताको खेल झनपछि झन रोचक र घृणित बन्दै गएको छ । सत्ता–प्रतिपक्ष एकअर्कालाई सांसद अपहरणको आरोप लगाउँदै आएका छन् । हुँदै नभएको अपहरणसम्मको आरोपमा उत्रिनु राजनीतिमा घृणित कार्य मानिन्छ ।

Advertisement

पछिल्लोपल्ट लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री सम्पर्कबिहीन भएको उनको पार्टी नेकपा माओवादी केन्द्रले जनाएको छ । यसअघि पार्टीको सम्पर्कबाहिर रहेकी जसपा सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित मोटो रकम दिने लोभ देखाएको आरोप लागेको थियो ।

Advertisement

उनलाई खोजीदिन भन्दै जसपा संसदीय दलले निवेदनसमेत दिएको थियो । कतिपय सांसदले अपहरण गरेको आरोपसमेत लगाएका थिए । आर्थिक प्रलोभनमा परेको र मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा जान लागेको खबर सार्वजनिक भएपछि ढेंगा जसपामै फर्किएकी थिइन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले शुक्रबारदेखि सांसद खत्री सम्पर्कमा नआएको बताए । तत्कालीन नेकपाकोतर्फबाट दाङबाट निर्वाचित खत्री पछिल्लो पल्ट माओवादी केन्द्र रोजेकी थिइन् । नेकपा विभाजनपछि उनले केही समय एमाले रहेको बताएकी थिइन् । तर, पछि माओवादी रोजिन् ।

उनले माओवादी रोजेको भन्दै पत्रकार सम्मेलन गरिरहँदा सत्तापक्ष एमालेले भने खत्रीलाई प्रतिपक्षले अपहरण गरेको आरोप लगाएको थियो । लुम्बिनीमा प्रतिपक्षको सरकार बनाउने र सत्तापक्षको सरकार जोगाउने खेलले यहाँको राजनीति वर्षदिन देखि गर्मागर्मी भएको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद खत्रीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने आशंका गरेको छ । नयाँ प्रदेश प्रमुखमा माओवादी निकट अमिक शेरचन आएपछि मुख्यमन्त्री पोखरेल थप सशंकित भएका छन् ।

सत्ताबाट बाहिरिन पर्छ की भन्ने चिन्तामा रहेका पोखरेलले विपक्षी सांसदलाई विभिन्न प्रलोभनमा पारेर विश्वासको मत लिन सक्ने विपक्षी दलका नेताको आशंका छ । प्रतिपक्ष जसरी नै यो सरकार ढालेर सत्तामा जाने दाउमा छ ।

सत्तापक्षले माओवादी, कांग्रेस र जसपाका सासंदहरूलाई भेटेर मन्त्री पद दिने र आर्थिक रुपमा पनि सहयोग गर्ने खालका लोभ देखाएको विपक्षी दलका नेताहरु बताउँछन् । तर, सत्तापक्ष यसलाई स्वीकार्न तयार छैन ।

विपक्षीले सुरुदेखि नै मुख्यमन्त्री पोखरेल अल्पमतमा भएको आरोप लगाउँदै आएका थिए । जसपाका ३ सांसदको पद गुमेपछि पोखरेल स्पष्ट अल्पमतमा परेका छन् । सरकार पक्षमा अहिले ३८ मत मात्रै छ भने विपक्षी गठबन्धनसँग ४१ मत छ । अल्पमतमा परेपछि पोखरेलले सांसदहरूलाई पद र आर्थिक लोभ देखाएर सत्ता टिकाउने खेलमा लागेको विपक्षीको अनुमान छ । यसैको शीलशिलामा सांसद खत्रीलाई सम्पर्कबिहीन बनाइएको बताइन्छ । पब्लिक कुराले पनि सांसद खत्रीसँग कुरा गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।