October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

लुम्बिनीका प्रदेश प्रमुखको पदभार ग्रहण, सरकारको बहिष्कार

भैरहवा– लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण कार्यक्रम बहिष्कार गरेको छ । बर्खास्तमा परेका यसअघिका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवको तामझामसहित विदाई गरेको सरकारले नयाँ प्रदेश प्रमुखको पदबहालीलाई बहिस्कार गरेको हो ।

राजनीतिक वृत्तमा यसलाई संस्कारहीन भनेर टिप्पणी गरिएको छ । नेकपा एमालेकै एक जिल्ला नेता भन्छन्, ‘जे–जस्तो भए पनि प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण कार्यक्रममा सहभागी हुनुपथ्र्यो । तर, आस्थाकै आधारमा यसरी बहिष्कार गर्नु गलत हो । प्रदेश सरकारले अलिकती पनि राजनीतिक संस्कार देखाएन ।’

मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन् । यसअघिका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवको जोडबल र आडमा उनले पद टिकाइराखेका थिए । नयाँ प्रदेश प्रमुख आएपछि उनको सरकार ढल्ने आँकलन गरिएको छ । यसको पहिलो संकेतस्वरुप पोखरेल नेतृत्वको सरकार प्रदेश प्रमुखप्रति नै गैरराजनीतिक तरिकाले प्रस्तुत भएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि लुम्बिनीका प्रदेश प्रमुख यादवलाई बर्खास्त गरी शेरचनलाई नियुक्त गरिएको हो । प्रदेश प्रमुखको स्वागतमा गौतमबुद्ध विमानस्थलमा शुक्रबार पनि कोही सरकारी प्रतिनिधिहरू पुगेनन् । शेरचनलाई विमानस्थलमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले स्वागत गरेका थिए ।

यादवको ठाउँमा सरकारले शेरचनलाई नियुक्त गरेपछि बिहीबार सपथ ग्रहण गरेर शुक्रबार पदभार ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय आएका हुन् । उनलाई स्वागत गर्न सरकारका कोही प्रतिनिधि आएनन् । प्रदेशको सबैभन्दा उच्चपदस्थ व्यक्तिले पदभार ग्रहण गरिरहँदा केही मिटरको दूरीमा रहेको मुख्यमन्त्री कार्यालयमा सबैजसो मन्त्रीसमेतको सहभागितामा मुख्यमन्त्रीकै अध्यक्षतामा कार्यक्रम चलिरहेको थियो । तर सरकारका मन्त्री या कुनै पनि प्रतिनिधि प्रदेश प्रमुखको स्वागतमा आएनन् ।

शेरचनलाई आफ्नो कार्यालयका कर्मचारीले मात्रै स्वागत गरे । शेरचनलाई कार्यलयमा प्रदेश प्रमुखको कार्यालय सचिव चिरञ्जीवि पौडेलले स्वागत गरेका थिए । नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले प्रदेश प्रमुखको पदभार ग्रहण तथा स्वागत कार्यक्रममा सरकारी मन्त्री अथवा प्रतिनिधिहरू नदेखिनु गैरराजनीतिक र पूर्वाग्रही सोचले काम गरेको बताउँछन ।

यसअघि यादवको बिदाई समारोहमा पुगेका मुख्यमन्त्री पोख्रेल, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य लगायतका सरकारका प्रतिनिधिहरू नयाँ प्रदेश प्रमुखको पदभारग्रहण कार्यक्रममा नदेखिनुलाई सरकारले गलत कुण्ठा राखेको भन्दै आलोचना सुरु भएको छ । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी भने आफूहरुले औपचारिक जानकारी नपाएको बताए ।

२०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथप्रसाद यादवलाई नियुक्त गरेको थियो । यसपल्ट काँग्रेस नेतृत्व सरकारकारले शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको हो । लुम्बिनीमा योसँगै ४ वर्षमा तीन प्रदेश नियुक्त भएका छन् ।