लुम्बिनीका तीन मन्त्री प्रदेशसभा सदस्यबाट पदमुक्त


बुटवल– लुम्बिनी प्रदेशका तीन जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । पार्टीको सिफारिसमा प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको सूचनामार्फत् जानकारी गराएको हो ।
प्रदेश सरकारमा मन्त्रीसमेत रहेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साल पदमुक्त भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जानकारी दिएका हुन् । उनीहरु तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।
११ साउनमा जसपाको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गगरेको थियो । पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप थियो । सोही आधारमा सांसदपदबाट पदमुक्त गर्न जसपाले लुम्बिनी प्रदेशसभामा पत्राचार गरेको थियो । पत्रका आधारमा उनीहरुलाई पदमुक्त गरिएको जनाइएको छ ।
पार्टीको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले बताए ।
जसपाको यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए । त्यसपछि उनीहरु सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किए । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागिन् । तीन जना महन्थ ठाकुर पक्षमा खुले ।
त्यसपछि जसपा उपेन्द्र पक्ष उनीहरुसँग असन्तुष्ट थियो । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाउँदावित्तिकै यादव पक्षले पहिलो फायर (कारबाही) लुम्बिनीका तीन सांसदलाई हटाउनबाट सुरु गरेको हो ।
‘प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सभामुखले तीन सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न लगाएको’, आज जारी सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्

प्रतिकृया दिनुहोस्