October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

अर्घाखाँचीमा स्वास्थ्यकर्मीमाथि दुव्र्यबहार

भैरहवा– अर्घाखाँची जिल्ला अस्पतालमा बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेका छन् ।

पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काकी आमाको उपचारका क्रममा आफन्तले अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट (मेसु) डा. कपिल गौतम र डा. पुजा पन्थ र आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अस्पतालले बिहीबार प्रेस विज्ञप्ती जारी गरेर जनाएको छ ।

अस्पताल विकास समितिका अधक्ष्य श्रीकृष्ण भुषाल र चिकित्सक गौतमद्वारा जारी विज्ञप्तीमा बिरामीलाई थप उपचारका लागि रेफर गर्ने क्रममा निमित्त मेसु डा.गौतम र पन्थमाथि अपशब्द तथा अनादारार्थी शब्दहरु प्रयोग गरेको उल्लेख छ ।

त्यसक्रममा चिकित्सक गौतमलाई एम्बुलेन्स भित्र थुनेर खड्काले ‘यो डाक्टरलाई पनि काठमाडौं पुर्याउनु पर्छ’ भनेर ढोका बन्द गरेको बिज्ञप्तीमा उल्लेख छ । अस्पतालले विज्ञप्ती जारी गर्दै अस्पतालमा बिरामी जाँचिरहेका स्वास्थ्यकर्मीलाई दु्व्र्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न माग गरेको छ ।

‘डा कपिल गौतम एम्बुलेन्सभित्र प्रवेश गरी कोभिड बिरामीको प्रकृति अनुसार अक्सिजन मिलाउँदै गरेको अवस्थामा एम्बुलेन्सको ढोका लगाएर दुव्र्यवहार गरियो’, विज्ञप्तीमा उल्लेख छ, ‘डाक्टरको काम छैन, यसलाई पनि काठमाडौं लैजान पर्छ, विरामीसँगै जान्छ’ जस्ता अभद्र अपशब्द प्रयोग गरी गाडीचालकलाई तुरुन्तै गाडी गुडाउन भनी दवाद दिइएको थियो ।’

केही समय एम्बुलेन्सभित्र थुनिएपछि अन्य व्यक्तिको मद्दतले एम्बुलेन्सको ढोका खुलेपछि डा.गौतम बाहिर निस्किन पाएको अस्पतालले बिज्ञप्ती मार्फत जनाएको छ । बिरामीलाई बुधबार बिहान ११ः३२ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।