March 18, 2025, Tuesday
२०८१ चैत्र ५

प्रेस क्लबमा आबद्ध पत्रकारलाई सिटी हस्पिटलमा उपचारमा छुट

भैरहवा– सिद्धार्थनगर सिटी हस्पिटल प्रालि भैरहवाले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुलाई उपचारमा विशेष छुट सुविधा उपलब्ध गराएको छ । आइतबार क्लबका अध्यक्ष नरेश केसी र अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलबीच यसबारे सम्झौता भएको हो ।

सिटी अस्पताल निजी क्षेत्रको लगानीमा भैरहवामा संचालित दोस्रो ठूलो अस्पताल हो । अस्पतालले क्लबमा आबद्ध पत्रकारहरुलाई ओपीडीमा ५०, ओपीडी फार्मेसीमा ५ र ओपीडी तथा आईपीडी इन्भेस्टिकेसनमा २५ प्रतिशत छुट दिने सम्झौता भएको अध्यक्ष केसीले बताए ।

Advertisement

यसैगरी एक्सरे, यूएसजीमा २५, सिटी स्क्यानमा १०, फिजियोथेरापीमा २५, शल्याक्रियामा ५–१०, बेड चार्जमा खानासहित २५ र क्याविन बेड चार्जमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक पौडेलले हरेक समयमा अग्रपंक्तिमा रहेर आमनागरिकलाई सूसुचित गराउने पत्रकारहरुलाई अस्पतालका सेवासुविधामा छुटको व्यवस्था गर्न पाउँदा खुशी लागेको बताए । ‘प्रेस क्लबसँग हामीले हातेमालो गरेका छौं, आगामी दिनमा यस्ता अन्य गतिविधिमा पनि क्लबसँग मिलेर अघि बढ्ने छौं’, पौडेलले भने ।

निजी क्षेत्रको अस्पतालले पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै उपचारमा छुट दिएकोप्रति क्लब परिवार आभारी रहेको अध्यक्ष केसीले बताए । उनले आउँदा दिनमा अस्पतालसँग थप सहकार्य गर्दै अघि बढ्ने जनाए । छुट सुविधा लिन उपचार गर्न जाँदा पत्रकारले क्लबको परिचय पत्र अनिवार्य लैजानु पर्ने सम्झौता पत्रमा उल्लखे छ ।

१० वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको सिटी अस्पतालले करिब डेढ वर्षसम्म जारी महामारीलाई छिचोल्दै सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरी एक महिना अघिबाट सेवा सुरु गरेको छ ।

अस्पतालले कपाल प्रत्यारोपण, निसन्तान दम्पत्तिलाई टेस्ट्यूव व्यवीसहितका सेवासुविधा थप गर्दै सेवा सुरु गरेको हो । भैरहवाको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनी रोडमा संचालनमा आएको यो अस्पतालले २०६८ सालमा १५ शय्याबाट सेवा सुरु गरेको थियो । अहिले स्तर बृद्धि गरी एक सय शय्याको बनाइएको छ । स्तर बृद्धिसँगै रोग पहिचान तथा उपचारका लागि आवश्यक पर्ने चिकित्सक, अत्याधुनिक प्रविधि तथा उपकरणहरु अस्पतालमा ल्याइएको छ ।

अस्पतालले सामान्य उपचारसँगै प्रयोगशालामा हुने अटोमेटिक एनालाइजर, ६४ स्लाइस सिटी स्क्यान, मोड्युलर अपरेशन, आईसीयूका लागि भेन्टिलेटर हाडजोर्नी तथा मेरुदण्ड अपरेशन, दुरविनबाट गरिने पत्थरीलगायत सम्पूर्ण अपरेशन, डायलाइसिस, छाला सम्बन्धि लेजर सर्जरी सेवा पनि सुरु गरेको छ । नवनिर्मित अस्पताल भवनमा डिलक्स तथा नर्मल क्याबिनको ब्यवस्था गरिएको छ । अस्पतालले सहज, सरल र विशिष्टिकृत सेवा सुरु गरेपछि विरामी, आफन्त र स्थानीय नागरिक खुशी छन् ।