भारतबाट चार बालबालिकाको उद्धार
भैरहवा– विभिन्न कारणले भारतमा पुगेका ४ बालबालिकालाई उद्वार गरी नेपाल ल्याइएको छ । आइतबार नेपाल ल्याइएका तीन जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा वडाध्यक्षमार्फत् आफन्तको जिम्मा लगाइएको छ भने एक जनालाई केही दिनका लागि कोटिहवास्थित बालगृहमा राखिएको छ ।
प्रवासी मित्र मंच नेपाल, भारत र मानव कल्याण मित्र मंच नेपालले भारतबाट उद्वार गरी उनीहरुलाई नेपाल ल्याएका हुन् । उद्धार गरिएकामध्ये ३ बालक र १ बालिका छन् । बाँकेको कोहलपुरका नगरपालिकाका दुई बालक र एक बालिका तथा बैतडीका १ बालक छन् ।
प्रवासी नेपाली मित्र मंच दिल्लीका महासचिव रघुनाथ पाण्डेका अनुसार उद्धार गरिएका बालिबालिकामा बैतडीका १५ वर्षीय प्रकाश सिंह महरा, बाँकेको कोहलपुरका ९ वर्षीय रोशन बढई, ७ वर्षीय बिशाल बढई र ५ वर्षीय पुजा बढई छन् ।
‘विभिन्न समयमा भारत पुगेका उनीहरुबारे हामीले थाहा पाएपछि उद्धार गरेर नेपाल ल्याएका हौं’, पाण्डेले भने, ‘बुझ्दै जाँदा बैतडीका बालक हिंड्दै र अन्य तीन जना ट्रकमा चढेर भारत पुगेको पाइएको छ ।’
६ महिना अघि कोहलपुर नाकाबाट भारत घुम्न र कमाउन जाने भनि हिँडेका चारै जना बालबालिकालाई भारतको बरेलीबाट उद्वार गरिएको हो । उनीहरुलाई नेपाली राजदूतावास दिल्लीबाट अनुमति पत्र प्राप्त गरी उत्तर प्रदेशको बरेली न्यायपीठ बाल कल्याण समितिको आदेशबाट आर्य समाज अनाथलायको संरक्षणमा राखिएको थियो ।
‘त्यसपछि हामीले नेपालमा बुझ्यौं, आफन्त सम्पर्कमा आएपछि उद्वार गरेर ल्याएका हौं’, पाण्डेले भने । विगतदेखि पारिवारिक बेमेल, गरिबी र रोजगारीका लोभले बालबालिका उमेर नपुग्दै भागेर भारत जाने गरेका छन् । यस्ता बालबालिका जोखिममा पर्ने गरेको मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताए ।
उनले भने, ‘यसरी भारतमा भेटिने कयौं बालबालिका दलालमार्फत् पनि जाने गरेका छन् । कतिपय पारिवारिक कारण रोजगारीका लागि जाने पनि गरेका छन् । यसरी जाँदा उनीहरु जोखिममा हुन्छन् । कयौं घटना छन् मानव तस्करले बालबालिकाको अंग निकालेर विक्री गरेको ।’
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अलपत्र बालबालिकाको उद्धार गरेर मित्र मंचले मानवीय सेवामा ठूलो भूमिका निभाएको बताए । ‘यहाँहरुले ठूलो पुण्यको काम गर्नुभएको छ । हाम्रा कलिला बालबालिका जोखिमबाट बचेका छन्’, उनले भने ।
प्रवासी मित्र मंचले अहिलेसम्म भारतमा अलपत्र परेका दुई हजार बढी बालबालिकाको उद्धार गरिसकेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्