May 17, 2025, Saturday
२०८२ जेष्ठ ३ शनिबार

साल र साजको काठसहित ५ पक्राउ

भैरहवा– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बाणगंगा नगरपालिका–५, कोपवास्थित भित्री सडक खण्ड र बाणगंगा–१०, जयपुर पट्ना साल र साजको काठसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरी गस्ती टोलिले सुठौलीदेखि कोपवातर्फ आउदै गरेको गोरु गाडामा अवैध रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको साजको गोलिया २ थानसहित उक्त गोरु गाडा नियन्त्रणमा लिएको हो । यस्तै, काठ तस्करीका संलग्न चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–५ कोपवा बस्ने १८ वर्षीय महावलि थारु, सोही ठाउँका १५ वर्षीय बिनोद थारु, ५० वर्षीय लक्ष्मण थारु र सोही ठाउँका २२ वर्षीय प्रवेश थारु छन् । काठसहित चारै जनालाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय चप्परगाँउ पठाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

यस्तै प्रहरीले कपिलवस्तु बाणगंगा–१०, जयपुर पट्नास्थित गाउँमा अवैध काठ लुकाई छिपाई राखेको छ भन्ने सूचनाका आधारमा खानतलासी गरी सालको काठ नियन्त्रणमा लिएको छ । काठसहित यही ठाउँ बस्ने ३५ वर्षीय कुलबहादुर बोटेलाई नियन्त्रणमा लिएको छ ।

उनको घर तथा गोठ खानतलासी गर्दा सालको गोलिया र फेन्टा एकमुष्ट नाप गर्दा १३.०३ क्युफुट काठ र ६ वटा फर्मा समेत बरामद गरी मानिस सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त काठ र मानिस आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय पटना कपिलवस्तुमा पठाइएको छ ।