रूपन्देहीमा व्यवसाय संचालन समयावधी र यातायातमा जोर–विजोर प्रणाली हट्यो


भैरहवा– रूपन्देहीमा यसअघि प्रशासनले लगाउँदै आएको व्यवसाय संचालन समयावधि हटेको छ । यस्तै, सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–विजोर प्रणाली पनि हटाइएको छ ।
बिहीबर जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निशेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–विजोर प्रणाली व्यवसाय संचालन समयावधि हटाएको हो ।
बैठकले साउन १५ गतेसम्मका लागि निशेधाज्ञा थप गर्ने निर्णय पनि गरेको छ । ठूला–ठूला मेला, भिडभाड हुनेखालका कार्यक्रमहरुमा भने फेरि पनि रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले जानकारी दिए ।
यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ । निशेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परिक्षणको दायारा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्ने निर्णय भएको छ ।
पाण्डेले कोरोना जोखिम अझै हटिनसकेको जनाउँदै त्यसलाई मध्यनजर गर्दै परीक्षण बढाउने तथा स्वास्थ्य मापदण्ड पालनामा कढाई गर्ने निर्णय गर्दै सार्वजनिक सवारी र व्यवसाय सञ्चालनमा यसअघि कायम सीमाहरु सबै हटाइएको बताए । अन्यको हकमा भने यसअघिकै निर्णय लागू हुने प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्