‘सरकारको कूटनीतिक कमजोरीले कोभिडविरुद्धको खोप आउन सकेन’


नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्।
राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउन असफल भएको दाबी गरेका हुन्। अपरिपक्व कूटनीतिका कारण सरकारका सबै प्रयास असफल भएको उनले टिप्पणी गरेका छन्।
दक्षिण एसियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज खोप बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किमअन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकत्वमा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उनले, ‘सरकार किन फेल भयो?’ भनी प्रश्न गरेका छन्।
उनले भने, ‘सरकारको कूटनीतिक प्रयास फेल भएको छ। यो कसरी भयो, किन फेल भयो? ती देश र कम्पनीसँगको नेपालको सम्बन्ध किन चिसो भयो? नेपालको सरकारसँग किन डिल गर्न चाहेनन्?’
दक्षिण एसियाका ४ वटा देशले ल्याउन सफल भए पनि नेपालले ल्याउन नसकोकामा उनले गुनासो गरे।
उनले भने, ‘यो कुरा महसुस गर्ने कि नगर्ने? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरूसँग तुलना नगरियोस्। यो मेरो प्रश्न हो। फेल भएको हो कि होइन सरकार? यो महसुस गर्ने कि नगर्ने?’
राष्ट्रियसभाकी सदस्य कोमल वलीलाई इंकित गर्दै उनले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे।
वलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिँदै व्यंग्य कविता वाचन गरेकी थिइन्। उनले वर्तमान सरकार कमिसन एजेन्टको घेराउमा परेको दाबी पनि गरे।
उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडसिल्ड खोप आउन नसकेको बताए। कमिसन एजेन्टले पैसा नपाएका कारण कोभिडसिल्ड खोप नआएको उनको भनाइ छ।
उनले भने, ‘कोभिडसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भनिसक्नुभएको छ, कमिसन खेलको कारण, कमिसन एजेन्टले अहिलेको सरकारलाई घेरिराखेको छ। मेरो आरोप त्यो छ।’
उनले सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गरे।
राष्ट्रियसभा सदस्य देवले कूटनीतिक असफलताका कारण नेपालले अन्तर्राष्ट्रिय विश्वसनियता गुमाइसकेको र अन्ततः एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गरे।
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको बताए।
उनले भने, ‘हाम्रा परम्परागत मित्र चीन भारत, अमेरिका, जापानलगायत जर्मनी फ्रान्सजस्ता देश र हाम्रो रिलेसन कोल्ड भयो। नेपाली कांग्रेसको कन्सन्ट त्यो हो। सम्बन्धलाई बनाउन, मिठास बनाउन प्रोएक्टिभ बनाउन मुलुकले धेरै मिहिनेत गर्नुपर्नेमा त्यसो हुन नसकेकाले एउटा देशमा मात्रै सीमित हुनुपरेको छ।’
उनले वैदेशिक नीतिको सञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गरे।
उनले कोरोना महामारी विश्वव्यापी समस्या भएको भन्दै कांग्रेसले रोकथाम, नियन्त्रणलगायत कार्यमा सहयोग गर्न सधँै तयार रहेको बताउँदै आए पनि सरकारले प्रतिपक्षी दलसँग कहिल्यै सहयोग नमागेको गुनासो गरे।
प्रतिकृया दिनुहोस्