February 8, 2025, Saturday
२०८१ माघ २७

वडाध्यक्षले गरे कोटहीमाईमा तालाबन्दी

भैरहवा– कर्मचारी तथा जनप्रतिनिधिहरु कार्यालय रित्तै हुने गरी पालिकामा नआएको भन्दै रुपन्देही दणिक्षी क्षेत्र मर्चवारमा पर्ने कोटहीमाई गाउँपालिकामा तालाबन्दी गरिएको छ ।

आइतबार गाउँपालिकामा वडा अध्यक्षले तालावन्दी गरेका हुन् । वडा नम्बर ३ का अध्यक्ष चन्द्रभान यादव र ४ का अध्यक्ष ओमप्रकाश पाण्डेले असार मसान्तमा जनताको काम गर्ने बेलामा कोही पनि पालिका कार्यालयमा नआएकाले तालाबन्दी गरिएको जनाए ।

Advertisement

‘यस्तोबेला दु्रत गतिमा काम हुनुपर्ने हो तर कार्यालयमा जनप्रतिनिधि र कर्मचारी नै आउँदैनन्’, वडा नम्बर ३ का अध्यक्ष यादवले भने, ‘यसैले हामीले तालाबन्दी गरेका हौं ।’ वडाध्यक्षहरुले गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशाशकीय अधिकृत, लेखा अधिकृत र प्राबिधिक कोही पनि कार्यालयमा नआएको बताएका छन् ।

गाउँपालिकामा राजनीतिक प्रतिशोधका कारण तालावन्दी गरिएको अन्य जनप्रतिनिधिको आरोप छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तत्कालीन उपेन्द्र यादव निकट हुन भने ताला लगाउने दुबै अध्यक्ष तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता सवेन्द्रनाथ शुक्ला निकट मानिन्छन् ।

केन्द्रमा महन्थ ठाकुर र उपेन्द्र पक्षबीच आरोप–प्रत्यारोप तथा राजनीतिक हानथाप चलिरहेका बेला त्यही प्रतिशोध साँध्न पालिकामा तालाबन्दै गरिएको आरोप अन्य जनप्रतिनिधिको छ ।

गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत दुर्गा गौडले तालाबन्दीबारे आफूलाई जानकारी नभएको बताए । ‘म बिरामी भएका कारण कार्यालय जान सकेको छैन । यसबारे मलाई जानकारी भएन’, उनले भने ।