‘छोटी भन्सार नहुँदा सीमा अपराध र चोरी–पैठारी रोक्न समस्या’


भैरहवा– सीमा क्षेत्रमा रहेका छोटी भन्सारहरु पुनः संचालनमा नल्याउँदा अपराध र चोरी–पैठारी नियन्त्रणमा समस्या भएको यहाँका सरोकारवालाले बताएका छन् ।
रोहिणी गउँपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले रोहिणीमा आयोजना गरेको सीमा क्षेत्रमा हुने अपराधजन्य क्रियाकलापको नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले छोटी भन्सार नहुँदा नाकामा समस्या बढेको बताउँदै पुनःस्थापन गर्न माग गरे ।
द्वन्द्वकालमा रुपन्देहीका छोटी भन्सारहरु विस्थापित भएका थिए । अहिले सरकारले पुनःस्थापनामा ध्यान दिएको छैन । जसले गर्दा जिल्लाका सीमा क्षेत्रमा चोरी–पैठारी बढ्दो छ । सीमा अपधार पनि बृद्धि भएको छ । यसले सुरक्षा निकायलाई चुनौति थपिएको छ ।
स्थानीय अगुवा सञ्जय कुमार गुप्ताले अहिले बिभिन्न भारतीय नम्बर प्लेटका सवारीहरु आउने र अपराध गरेर भारततर्फ भाग्ने गरेको कारण यसको नियन्त्रणको लागि पनि छोटी भन्सार आवश्यक रहेको बताए ।
गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले भारतीय पक्षले रोहिणी क्षेत्रका अधिकांश गाउँ नै डुबानमा पर्ने गरि सडक बनाएकामा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुटनीतिक पहल नगरिएको जनाए ।
‘भारतले एकतर्फी रुपमा सडक बनाउँदा रोहिणीको वडा नम्बर ५,६ र ७ का अधिकांश गाउँ र खेतीयोग्य जग्गा डुबानमा परेको छ’, उनले भने, ‘तत्काल कुटनीतिक पहल गरी समाधान खोज्नुपर्छ ।’
अध्यक्ष यादवले सुरक्षा संयन्त्रलाई चुस्त बनाउन उनीहरुलाई साधनश्रोतमा सम्पन्न बनाउन पनि आग्रह गरे । गृह मन्त्रालय अन्तर्गत रहेको प्रहरीलाई सम्बन्धित मन्त्रालयले पर्याप्त बजेट नदिँदा पनि सीमामा अपराधजन्य क्रियाकलाप न्यूनीकरण गर्न नसकिएको जनाए ।
‘बिग्रेको, थोत्रो सवारीले प्रहरीले कहिलेसम्म सुरक्षा प्रदान गर्न सक्छ ?’, उनले प्रश्न गरे, ‘यसै कारण पनि प्रहरी घटनास्थलमा ढिलो पुग्ने गरेको छ ।’ उनले गाउँपालिकाले स्थानीय सुरक्षा निकायलाई केही बजेट दिए पनि त्यो पर्याप्त हुन नसकेको जनाए ।
सीमा क्षेत्रमा हुने अपराधका कारकमा दशगजासँगै सटेर रहेका मदिरा पसल र बिभिन्न गोदामहरु पनि हुने गरेको वक्ताहरुले बताए । स्थानीय प्रशासनले ब्यवसाय दर्ता गर्दा पनि सीमा क्षेत्रबाट निश्चित दुरी तोकेर मात्र अनुमति दिनु पर्ने उनीहरुको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालयले यस आर्थिक वर्षमा सीमासँग जोडिएका ४ स्थानीय तहमा यो कार्यक्रम गर्ने जनाएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी बिजयकुमार पौडेलले रोहिणी, सम्मरीमाई, मर्चवारी गाउँपालिका र सिद्धार्थनगर नगरपालिका वा लुम्बिनी सांस्कृतिक नगरपालिका मध्ये कुनै एक स्थानमा यो कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
कार्यक्रमले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच हुने कामहरुमा पनि सहजता ल्याउने विश्वास जनाए । उनले कार्यक्रममा सीमामा हुने अपराधिक क्रियाकलापको न्यूनीकरण मात्र नभई जिल्ला प्रशासनले प्रवाह गर्ने सेवासुविधा बारे पनि स्थानीयहरुलाई जानकारी दिइरहेको बताए ।
अन्तरक्रियामा उठेका समस्याहरुलाइ प्रशासने सुरक्षा समितिको बैठक मार्फत काउण्टर पार्ट मिटिङमा कुरा राख्ने पौडेलले बताए । ‘यी विषयहरु समाधानको पहल गरिने छ’, उनले भने । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै जिल्लाको सीमा क्षेत्रमा रहेको सुरक्षा अवश्था बारे जानकारी गराएका थिए ।








प्रतिकृया दिनुहोस्