रून्देहीमा निषेधाज्ञा खुकुलो, निजी सवारी जोर–विजोर गरी चलाउन दिइने
भैरहवा– रुपन्देहीमा जारी निषेधाज्ञा केही खुकुलो बनाई थप गरिएको हो । जिल्लामा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी छ । निषेधाज्ञा थप गरी असार १४ गतेसम्म पुर्याइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले असार ८ गते बिहान ६ बजेदेखि १४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जानकारी दिए ।
सोमबार प्रशासन निषेधाज्ञा थप गर्दै मासु, माछा, तरकारी, फलफूल दुग्धजन्य सामग्री स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य व्यवसाय बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
‘विकास निर्माणका कार्यलाई निरन्तरता दिन निर्माण सामग्री बोकेका सवारी साधनहरुलाई बेलुका ६ बजेदेखि बिहान ३ बजेसम्म सञ्चालन गर्न दिइएको छ’, पौडेलले भने । पौडेलका अनुसार निषेधाज्ञा अवधिमा सवारीसाधन सञ्चालन गर्न, भेला, भिडभाड, महोत्सव जात्रा, सभा जुलुस लगायत भिडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन ।
यस्तै, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, होटल, सेमिनार, गोष्ठी, तालिम, सम्मेलन, सैलुन, व्युटीपार्लर, खेलकुद, जिमखाना सञ्चालन गर्न रोक लगाइएको छ । प्रशासनले शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न पनि रोक लगाएको छ ।
मंगलबारबाट सरकारी कार्यालयसहित निजी सवारी साधन भने खुल्ने भएका छन् । निषेधाज्ञा थप खुकुलो बनाएर सरकारी कार्यालय भोलिदेखि नै खुल्ने व्यवस्था मिलाइएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको बैठकले नीजि सवारी साधन मात्रै चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सवारी साधन भने अझै संचालन हुने छैनन् । निजी सवारी जोर–विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका सवारी र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइने व्यवस्था मिलाइएको पौडेलले बताए ।
कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ अनुसार २०७८ वैशाख १६ गतेको आदेशलाई निरन्तरता दिइएको हो ।
यस्तो छ प्रशासनको सूचना
प्रतिकृया दिनुहोस्