June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

नदीहरूमा पानीको बहाव बढ्यो, सतर्कता रहन अपील

भैरहवा– अविरल वर्षाले लुम्बिनी प्रदेशका साना–ठूला नदीहरुमा बहाव ह्वात्तै बढेको छ । राप्ती, तिनाउ, रोहिणी, दानव, झिमरुक, माडी, बबई लगायतका नदीमा बहाव बढेको हो । यी नदीहरुमा पानीको बहाव उच्च हुँदा खतराको संकेत पार गर्न थालेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

जिल्ला प्रशासन, स्थानीय सरकारले बाढीको जोखिममा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा सारिरहेका छन् । वर्षाका कारण प्रदेशका अधिकांश सडक अबरुद्ध छन् । नारायणी र यसका सहायक नदीमा पानीको बहाव सतर्कता तह आसपासमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको छ । तर, यी सबै नदीमा पानीको बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले जनाएको छ ।

बुधबार कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने तर नारायणी, कर्णाली र महाकाली जलाधारका स–साना सहायक नदीमा क्षणिक मध्यम तथा भारी वर्षा भइ बहाव बढ्ने र केही नदीमा सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ ।

कन्काइ र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कमला, बागमती, पूर्वी राप्ती लगायतका नदीमा बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुने अनुमान छ।

पश्चिम राप्ती, तिनाउ, बबईसहितका नदीमा बहाव बढेर सतर्कता तह पुग्न सक्ने सम्भावना छ । बुधबार कालीगण्डकी, भेरी र यसका सहायक नदी लगायत बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, काठमाडौँ, चितवन र मकवानपुर त्यसैगरी गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दाया, रुकुम, कर्णााली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक वहाव भइ सतर्कता तह आसपास हुने अनुमान महाशाखाले गरेको छ ।

सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोलामा अकस्मात बढेको पानीको सतह घट्दो क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ । मंगलबार बलेफी खोलामा अकस्मात पानीको बहाव बढेर खतराको तह पार गरेकोमा बुधबार बिहानदेखि बहाव घट्दो क्रममा रहेको हो । विभिन्न स्थानमा वर्षा हुने क्रम अहिले पनि जारी छ ।

यता लमही नगरपालिका वडा नं. ७ हस्नापुर निवासी मन्साराम चौधरी सहित राप्ती नदीमा छेकिएकाहरुको उद्धार गरिएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि मन्साराम टापुमै छेकिएका चौधरीसहित अन्य तीन जनाको मंगलबार राति एक बजेसम्म पनि उद्धार हुन सकेको थिएन ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली मंगलबार राति एक बजे सम्म उद्धारको प्रयास गरेको थियो । बुधवार बिहानबाट थालिएको उद्धार कार्य सफल भएको छ । ‘रबर बोटसहित तालिमप्राप्त टोली उद्धारमा खटिय । टापुमा पुगेर सकुशल उद्धार गरेर ल्यायौँ’, इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले भने, ‘भैँसीको मायाले गर्दा एक जना सुरुमा आउन मन गर्नु भएको थिएन । तर, उहाँलाई पनि सम्झाई बुझाई गरेर उद्धार गरेर सुरक्षित स्थानमा सार्न सफल भयौँ ।’

उद्धार टोलीले लमही नगरपालिका–७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षीया सावित्रा, सोही ठाउँ निवासी २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३, प्रतापपुर निवासी २६ वर्षीय गणेश यादवको झण्डै १२ घण्टापछि सकुशल उद्दार गरेको हो । पानी परिरहेकाले नदीहरुमा बहाव तीव्ररुपमा बढीरहेको छ । यसैले तटीय र नदी आसपासका नागरिकलाई सचेत रहन जिल्ला प्रशासन, स्थानीय तह, प्रहरीले अपील गरेका छन् ।