जसले तीन वर्षको योजनापछि श्रीमानको हत्या गराइन्


कपिलवस्तुु- नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलासा भएको छ । कपिलवस्तु प्रहरीको अनुसन्धानले यो कुरा पुष्टि गरेको छ ।
हत्याको योजना बनाउने पाण्डेकी श्रीमती महिमासहित हत्यामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेकाहरुलाई कपिलवस्तु प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार हत्यामा संलग्न रमजान साह मुसालमान, साकिर अलि पाखिया, पुर्णविर पाल्पाली कुम्हाल, सद्धाम हुसेन, ज्ञानेन्द्र कुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम चौधरी, नसरत अलि र प्रविण गुप्तालाई प्रहरीले सर्वजनिक गरेको हो । घटनामा संलग्नहरु हातहतियारसहित पक्राउ परेका र उक्त हातहतियार खरिद बिक्री, ओसारपसार कार्यमा संलग्न सम्पूर्णलाई संगठित अपराध सजाय ऐन, २०७० बमोजिम कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु(१ का ३९ वर्षीय ओमप्रकाश यादव र महिमाबीच तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। महिमा र यादवबीच पाँच वर्षदेखि अनैतिक सम्बन्धसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
यादवले विभिन्न समयमा विभिन्न व्यक्तिलाई पाण्डेयलाई मार्न सुपारी समेत दिएको खुलेको अधिकारीले बताए। जेठ ५ गते गोली हानी घाइते भएका पाण्डेयको उपचारको क्रममा जेठ १० गते काठमाडौंमा मृत्यु भएको थियो। यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्।
उनी जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन्।
प्रहरीले मुख्य योजनाकार यादवबाट पेस्तोल थान–१, म्याग्जिन थान–१, २२ म्याग्नमको गोली ६८ राउण्ड, रमजान साह मुसलमानबाट स्वचालित पेस्तोल थान–१ को म्याग्जिन थान–१ र गोली ८ राउण्ड र गोली हान्ने व्यक्ति साकिर अलि पाखियाबाट एक थान नल कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद गरेको जानकारी दिएको छ।
पखिया हातहतियार तथा खरखजना मुद्दामा २०६४ साल वैशाख ५ गते पक्राउ परेका थिए। त्यसबेला उनी दुई वर्ष जेल बसेर छुटेका थिए। पाण्डेयलाई जेष्ठ ५ गते राति ११ बजेको समयमा कपिलवस्तु नगरपालिका–६ गोबरीस्थित चार नम्बर तौलिहवा सडक खण्डमा गोली प्रहार गरिएको थियो।
प्रतिकृया दिनुहोस्