March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

देशभर फैलियो मनसुन

यो वर्षको मनसुन देशभर नै फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बेलुकादेखि देशभर नै मनसुन फैलिएको महाशाखाले जनाएको छ ।

Advertisement

यो हप्ता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

Advertisement

उनीहरुले बाढी तथा पहिरो आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।