September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

प्रतिकुल वातावरणले सम्पूर्ण प्राणीको जीवन संकटमा

भैरहवा– लुम्बिनी प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले सम्पूर्ण प्राणीको अस्तित्व बचाउन प्रकृतिलाई अनुकुल बनाई वातावरणको रक्षा गर्नु पर्ने बताएकी छिन् । प्रकृति अनुकुल बनाउन सबैले वृक्षारोपण गर्नुपर्ने उनले बताइन् ।

Advertisement

सम्पूर्ण प्राणीको जीवन वातावरणमा निर्भर रहेकाले मानवीय क्रियाकलाप वातावरण रक्षामा केन्द्रित गर्न उनले सबैलाई आग्रह गरिन् । विश्व वातावरण दिवसको अवसरमा बेलहिया बुटवल व्यापारिक मार्गस्थित ओमसतिया गाउँपालिका क्षेत्रमा वृक्षारोपणको सुभारम्भ गर्दै मन्त्री पाण्डेले सन्तुलित वातावरणको निर्माण गर्न प्राकृतिक सम्पदाहरुको सही सदुपयोग गर्नुपर्ने बताइन् ।

Advertisement

‘प्रकृति, वातावरण र मानिसका विच एकदमै घनिष्ट सम्बन्ध छ । तर आज मानिसले आफूलाई आवश्यक पर्ने प्राकृतिक स्रोतको उपयोग गर्दा वातावरणलाई कति असर गरेको छ त्यो ख्याल गर्दैनन् । यसले भूक्षय, बाढीपहिरो, खडेरी, अतिवृष्टि जस्ता समस्या निम्त्याएको छ’, मन्त्री पाण्डेले भनिन् ।

सबैजनाले घरमा कम्तिमा एउटा रुख रोपे वातावरण सन्तुलन हुँदै जाने उनले बताइन् । भौतिक विकास अपरिहार्य भएकाले अब प्रदेश सरकारले विकास सँगसँगै वातावरण संरक्षणको काम पनि सँगै गर्ने मन्त्री पाण्डेले बताइन् ।

‘हो विकास निर्माणका काम गर्दा प्राकृतिक सम्पदाहरु नासिँदै गइरहेका छन् । अब प्रदेश सरकारले विकास निर्माणका काम गर्दा हुने क्षति, निर्माण सकिएपछि वृक्षारोपण, प्राकृतिक जलाधार क्षेत्रहरुको निर्माण तथा संरक्षण गरि वातावरण अनुकुल हुने काम अगामी वर्षबाट सुरु गछौं’, उनले भनिन् ।

उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसीले प्रतिकुल वातावरणलाई अनुकुल बनाउन वृक्षारोपण सबैभन्दा उपयोगी भएकाले मन्त्रालयले हरेक वर्ष वृक्षारोपण गरेर कार्यक्रम गर्ने गरेको बताए । वातावरण विनाश भए मानिसको अस्तित्व सङ्कटमा पर्ने भएकाले रुख विरुवाको संचय गर्नुपर्ने उनले बताए ।

मानिसले प्राकृतिक स्रोतमा गरेको अत्याधिक दोहनले सम्पूर्ण जीवको जीवन सङ्कटमा परेको महाशाखा प्रमुख दिपक ज्ञवालीले बताए । भौतिक विकास र विकास निर्माणका काम वातावरण अनुकुल भए अहिले देखिएका प्राकृतिक समस्याहरु आधा कम हुने विज्ञहरुको दाबी छ । विश्व वातावरण दिवसमा यो वर्षको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना’ भन्ने थियो ।