October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

अखिलद्वारा रक्तदान

बुटवल– अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश स्वयंसेवक विभागले रक्तदान कार्यक्रम गरेको छ । विभागले बुधबार बुटवलस्थित ब्लड बैंकमा रक्तदान गरेको हो ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले २०७८ जेठ १६ गते विनोद वराल संयोजक र सागर पन्थ सह–संयोजक रहेको लुम्बिनी प्रदेश स्वयंसेवक विभाग गठन गरेको थियो । लुम्बिनी प्रदेश स्वयंसेवक विभाग आफ्नो पहिलो कार्यक्रम अन्तर्गत रक्तदान गरेको हो । कार्यक्रममा १५ युनिट रगत संकलन भएको छ ।

माओवादी केन्द्रका रुपन्देही सचिव निर्मल जीसीलेसमेत रक्तदान गरेका थिए । उनले कोरोना महामारीमा रगत अभाव हुन नदिन आफुहरु लागिरहेका बताउँदै उक्त कार्यक्रमको प्रशंसा गरे ।

स्वयंसेवक विभागका सह–संयोजक सागर पन्थले रक्तदान जीवन दान भएको बताउँदै कोरोना महामारीको समयमा रगत अभाव देखिएको हुँदा रगत अभावबाट कसैको ज्यान जोखिममा नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको बताए । उनले आवश्यकता अनुसार लुम्बिनी प्रदेशका सबै जिल्लामा रक्तदान कार्यक्रम समेत गर्ने बताउँदै आफूहरु रचनात्मक र सचेतनामूलक कार्यक्रमहरु गर्दै विद्यार्थीको हक हितका लागि पहल गर्ने बताए ।

रक्तदान माओवादी केन्द्रका नेता विष्णु ढकाल, माधव पाण्डे, विद्यार्थी इन्चार्ज रुपेश पौडेल, विद्यार्थी जिल्ला संयोजक विष्णु खत्री लगायत रुपन्देही जिल्ला सदस्यहरुको सहभागिता थियो ।