जसपामा कारबाही होड


भैरहवा– जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले आफ्ना ४ जना नेता पार्टीबाट निष्काशित गरेको केही समयमै अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महोतो पक्षले पनि उपेन्द्रलाई कारबाही गरेको ।
यसले विगतमा तत्कालीन नेकपामा देखिएको कारबाही होडलाई दृष्टान्त बनाएको छ । पार्टीका नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको उपेन्द्र पक्ष पार्टीको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो ।
यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइसकेको नेता राईले बताए । योसँगै वर्तमान सरकारमा सहभागी हुने या नहुने विषयलाई लिएर दुई धार देखिएको जसपा विभाजनको ससंघारमा पुगेको छ । जसपाले पाँच दिन अघि ती नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।
तर उनीहरुले स्पष्टीकरण नदिने स्पष्ट पारेका थिए । पार्टी नीति विपरीत काम गरेको आरोप लगाउँदै उपेन्द्र यादव समूहले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । तर ठाकुर समूहले पनि यादव समूहलाई अनुशासन उल्लंघनको आरोप लगाउँदै यादवलाई स्पष्टीकरण सोधेको थियो । यादव समूहले पार्टीको नीतिविपरीत केपी ओली सरकारलाई साथ दिनुका साथै राष्ट्रपति कार्यालय, निर्वाचन आयोगलगायतलाई पत्र पठाएको आरोप लगाएको छ ।
यादव समूह हाल संसद विघटनको विरुद्धमा उत्रिँदै विपक्षी नेपाली काँग्रेसलगायतका दलको गठबन्धनलाई साथ दिएको छ । तर ठाकुर समूहले ओलीले संसद विघटन गर्दै घोषणा गरेको निर्वाचनकालाई स्वागत गरेको छ ।
यता जसपा अध्यक्ष महन्थ पक्षले अर्का अध्यक्ष उपेन्द्रलाई कारबाही गरेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।
यादवलाई कारबाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउने डा. सुरेन्द्र झाले जानकारी दिए ।
उता, ,यादव पक्षले भने आजै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । उक्त कारबाहीको जानकारीको पत्र आयोगमा दर्ता भएको नेता डम्बर खतिवडाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्