खाली अक्सिजन सिलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ – अक्सिजन सिलिन्डरहरु सम्बन्धित कम्पनीमा समयमा भर्न लैजान र घरमा खाली नराखिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति निकालेर अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने भएकाले सबैलाई संवेदनशील बनिदिन अपील गरेका हुन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘केही दिनदेखि अस्पतालहरुमा सहज भएको अक्सिजनको आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्नका लागि फिर्ता नपुग्ने समस्या बढ्दै गएको छ।’
एउटा उद्योगको सिलिन्डर अन्यत्र जाने क्रम पनि अत्याधिक भएको भन्दै प्रवक्ता अधिकारीले यो क्रम जारी रहे आउँदा दिनमा समस्या उत्पन्न हुन सक्ने बताएका छन्।
उनले भनेका छन्, ‘विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि लगिएका अक्सिजन सिलिण्डरहरु समयमै जुन कम्पनी वा अस्पतालका हुन् तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरि आवश्यक व्यवस्था मिलाइदिनु हुन अनुरोध छ।’
अस्पतालको आपूर्ति प्रणाली भन्दा बाहिर नजाने गरि समन्वयको व्यवस्था गरेर महामारीविरुद्धको अभियानमा सकारात्मक सहयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्