May 17, 2025, Saturday
२०८२ जेष्ठ ३ शनिबार

सिद्धार्थनगरको आइसोलेसनमा उपचारपछि निको भएर घर फर्किए २० संक्रमित

भैरहवा- कोरोना संत्रक्रमित भई श्वासप्रश्वासमा समस्या आएपछि सिद्धार्थनगर नगरपालिकाले भैरहवास्थित बसपार्कमा संचालन गरेको आइसोलेसन सेन्टरमा भर्ना भएका २० संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

आइसोलेसन सेन्टरमा अहिलेसम्म भर्ना भएका ३५ जनामध्ये अधिकांश निको भएर घर फर्किएका हुन् । यसले आइसोलेसनको सेवा प्रभावकारी देखिएको छ । नगरपालिकाले यहाँ अक्सिजनसहितको चिकित्सकीय सेवा दिएर आइसोलेसन सेन्टर संचलनमा ल्याएको छ ।

Advertisement

प्रभावकारी सेवा पाएपछि यहाँ भर्ना भएका धेरै संक्रमित छिटो संक्रमणमुक्त हुने गरेको नगरपालिकाले जनाएको छ । यहाँ १५ जना संक्रमितलाई थप चिकित्सकीय सेवा दिनुपर्ने भएपछि चितवन, काठमाडौं र भैरहवाकै भीम अस्पतलमा रेफर गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आइसोलेसनमा अहिले ९ जना संक्रमितको उपचार जारी छ । आइसोलेसन संचालनमा खटिएका चिकित्सकसहित ३ जनामा कोरोना संक्रमित भएका छन् । नगरपालिकाका अनुसार डा.अरुण खरेलसहित अहेव १ जना र १ जना कर्मचारीमा कोराना पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिए ।

स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित भएपछि सेन्टरमा स्वास्थ्यकर्मीको कमी हुन नदिन नगरपालिकाका विभिन्न वडाहरुमा रहेका स्वास्थ्य चौकीका कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरु पनि आइसोलेसन सेन्टरमै खटाइएको मरासिनीले बताए । यसले वडास्तरको सेवा भने प्रभावित भएको छ ।

आफू संक्रमित भए पनि डा.खरेल बाहिरबाटै संक्रमितको उपचार र परामर्शमा खटिएका छन् । आइसोलेसन सेन्टरमा अहिले आवश्यक अक्सिजन पर्याप्त रहेको नगरपालिकाले जनाएको छ ।

यता नगरपालिकाले बेलहिया नाकामा संचालनमा ल्याएको हेल्थडेक्समा कार्यरत कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । हेल्थडेक्समा कार्यरत ५ कर्मचारी कोरोना संक्रमित भएको नगरपालिकाले बताएको छ । कोरोना पुष्टि पछि होम आइसोलेसनमा बसेका नगर प्रमुख हरिप्रसाद अधिकारी संक्रमण मुक्त भएका छन् ।