सशस्त्रको गोली प्रहारबाट घाइते युवाको मृत्यु


नवलपरासी–सशस्त्र प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते पश्चिम नवलपरासीका २३ वर्षीया युवा अविनाश राजभरको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।
शहीद स्मृति अस्पताल, चौपातामा नवलपरासीमा उपचार हुन नसकेपछि उनलाई बुटवल पठाइएको थियो । बुटवलतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी नवलपरासीका प्रमुख एसपी महेश अधिकारीले जानकारी दिए ।
बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका केही समूह स्थानीय युवालाई सशस्त्रले रोक्दा भनाभन भएको थियो । सोहीक्रममा सशस्त्र प्रहरी र युवाहरुबीच झगडा भएको थियो । झगडाले ठूलो रुप लिँदा ढुंगामुडा भएपछि सशस्त्रले गोली चलाएको थियो ।
स्थानीय ५०-६० जना युवा जम्मा भएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि सुरक्षार्थ गोली चलाएको सशस्त्र प्रहरीको दावी छ । कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक अधिकारीले जनाए ।
आत्मरक्षार्थ सशस्त्रले गोली चलाउने क्रममा राजभरलाई गोली लागेको सशस्त्रले दावी पेस गरेको छ । ‘हामीले भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रुग्यास प्रहार गरेका थियौं । भीड अनियन्त्रित भएपछि बाध्य भएर एक राउन्ड गोली चलाएको हो’, अधिकारीले भने, ‘त्यही क्रममा राजभरलाई गोली लागेको हो ।
सशस्त्र भीडले आक्रमण गर्दा एकजना सई शंकर बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको जनाएको छ । युवाको मृत्यु पछि त्यहाँ तनाव भएको छ । स्थान्ीय प्रशासनले सशस्त्र र नेपाल प्रहरी व्यपाक परिचालन गरेको छ ।
प्रतिकृया दिनुहोस्