January 23, 2025, Thursday
२०८१ माघ १०

सशस्त्रको गोली लागेर नवलपरासीमा एक युवा घाइते

नवलपरासी– सशस्त्र प्रहरीले चलाएको गोली लागेर नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा एक युवा गम्भीर घाइते भएका छन् ।

प्रतापुर गाउँपालिका–६, कठहवाका २२ वर्षीय अविनाश राजभर सशस्त्रले चलाएको गोली लागेर गम्भीर घाइते भएका हुन् ।

Advertisement

भारतीय सीमातर्फ जाँदै गरेका युवालाई रोक्न खोज्दा विवाद भएपछि सशस्त्र प्रहरीले गोली चलाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

बुधबार बिहान साढे ९ बजेतिर सशस्त्र प्रहरीले बनकट्टी भन्ने ठाउँमा गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल–भारत दुबैतर्फको अवस्था तनावपूर्ण बनेको स्थानीयले बताएका छन् । सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएको सशस्त्रले जनाएको छ ।

घटनास्थल अहिले नेपाल प्रशरी र सशस्त्र प्रहरीका सुरक्षा अधिकारीहरु पुगेका छन् । स्थितिलाई सामान्य पार्ने प्रयार जारी छ । सशस्त्र प्रहरी पश्चिम नवलपरासीका प्रमुख एसपी महेश अधिकारीले सशस्त्र प्रहरीमाथि ढुंगामुडापछि हवाई फायर गरिएको बताए ।

उनकाअनुसार भारततर्फ जाने लागेका युवालाई रोक्दा उनीहरुले सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । स्थानीयको ढुंगा प्रहारबाट पाँच जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

घाइते स्थानीय युवा र सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य चौकीका उपचार जारी छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको एसपी अधिकारीले जनाए । उनले भने, ‘अहिले म घटनास्थलमा छु, यथार्थ बुझ्दै छु । केही समयमा वास्तविकता पत्ता लाग्छ ।’