December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

सांसद खाँणद्वारा स्वास्थ्य सामाग्री सहयोग

भैरहवा- प्रतिनीधि सभा सदस्य बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् ।

Advertisement

नेपाली काँग्रेस प्रतिनिधि सभा प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री समेत रहेका काँग्रेस नेता खाँणले क्षेत्र नम्बर ३ का स्वास्थ्य संस्थालाई उपलब्ध गराएका स्वास्थ्य सामाग्री मंगलबार सम्बन्धित स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको छ ।

खाँणले स्वास्थ्यकर्मीहरुका लागि उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्री मंगलबार महासमिति सदस्य तथा वडा अध्यक्ष विष्णु बस्याल, जिल्ला सदस्य शिव न्यौपाने लगायतले स्वास्थ्य संस्थामा पुगेर हस्तान्तरण गरेका छन् ।

खाँणले पीपीई सेट, मास्क, सेनिटाइजर, गलब्स, भिटामिन सि लगायतका स्वास्थ्य सुरक्षा सामाग्री र औषधि जिल्ला पठाएका थिए । उक्त सामाग्री निर्वाचन क्षेत्र नं. ३ का बिभिन्न ८ वटा स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिएको काँग्रेस तिलोत्तमा नगर समितिका सहसचिव सञ्जिव बस्यालले बताए ।

यसअघि समानुपातिक सांसद बनेका खाँण आगामी निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने तयारीमा छन् । यसैको शिलशिलामा उनले यो क्षेत्रलाई विशेष प्राथमिकता दिएर लागेका छन् ।