June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।  सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आज (विहीबार)को समय दिएकी थिइन् ।

Advertisement

विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्ने कसरतमा छन् ।

यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका नेता माधव नेपाल लगायतसँग संवाद जारी राखेको पाइन्छ । काँग्रेस, जसपा र एमालेको नेपाल पक्षभित्र यस विषयमा आन्तरिक छलफल पनि जारी छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो विपक्षी गठबन्धनमा बहुमत पुग्न नदिने रणनीतिमा लागेपछि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीको एकीकृत नीति बनाउन छलफलमा जुटेका छन् । यता नेपाल पक्ष पनि सांसद पदबाट राजीनामा दिने अन्तिम तयारीमा छ ।

जसपाको ठाकुर महतो पक्षलाई नयाँ सरकार निर्माणमा सहमत गराउन नसके नेपाल पक्षको राजीनामाको सहारामा बहुमत पुर्याउने विपक्षीको रणनीति देखिन्छ । 

बिहीबार राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् । देउवाकै नेतृत्वमा बहुमत पुर्‍याउन बिहीबार साँझसम्म प्रयत्न गरिने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । 

उनले भने, ‘ छलफल सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ । अन्तिम बेलासम्म जे पनि हुन सक्छ । हामीले विभिन्न माध्यमबाट सबै पक्षसँग कुराकानी गरिरहेका छौं ।’ आज विपक्षी  दलबीच निर्णायक वार्ताको तयारी भइरहेको उनको भनाइ छ ।