युसिएमएसले भन्यो– ‘आज चार बजेपछि अक्सिजनसहितको उपचार दिन सक्दैनौं’


भैरहवा, वैशाख २९ । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले (युसिएमएस) आज (बुधबार) दिउँसो ४ बजेपछि अक्सिजनसहितको उपचार दिन नसक्ने जनाएको छ ।
बुधबार विज्ञप्ती जारी गर्दै अस्पताल प्रशासनले । एक हप्ताअघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आए पनि जिल्लाका तीन उद्योग र बाहिरबाट पनि आपूर्ति हुन कठीन भएकाले वाध्य भएर उपचार दिन नसकिने जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको भए पनि मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएको जनाए । ‘त्यसपछि हामीले अक्सिजनका विरामी उपचार गर्न सक्दैनौ’, ढकालले भने ।
विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । अस्पतालमा कोभिड–१९ का ९० जनासहित दुई सय जना बिरामी उपचाररत छन् । तीमध्ये एक सय ८० जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार जारी छ । यीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा रहेको ढकालले बताए ।
‘माग अनुसार अक्सिजनको आपूर्तिको सुनिश्चतता नभएपछि एक हप्ता अगाडि पनि सूचना जारी गरेर नयाँ बिरामी भर्ना बन्द गरिएको थियो, अहिले पनि बाध्य भएर विज्ञप्ती जारी गर्यौ’, ढकालले भने ।
माग अनुसार अक्सिजन जिल्लाका उद्योगले दिन नसकेपछि अस्पतालले चितवनबाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन रोकिएपछि गएराति मध्यरात जिल्ला प्रशासन कार्यालयमा पुगेर हारगुहार गरेको थियो ।
१० दिन अगाडि पनि अस्पतालले जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई पत्र लेखेर अक्सिजन अभावबारे जानकारी गराएको थियो । अहिले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल लगायतका कोभिड अस्पतालहरुमा पनि अक्सिजनको अभाव छ ।
प्रतिकृया दिनुहोस्