January 23, 2025, Thursday
२०८१ माघ १०

१३ घण्टामा बाँकेमा ११ संक्रमितको ज्यान गयो

बाँके, वैशाख २९ । कोरोना कहरले थला परेको बाँके जिल्लाका विभिन्न अस्पतालमा उपचाररत थप ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, बाँकेकाअनुसार मंगलबार राति ९ बजे यता बुधबार बिहान १० बजेसम्म यति धेरै संक्रमितको मृत्यु भएको हो ।

मृतकमध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक–एक जना सल्यान र कैलालीका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगन्ज उपमहानगर–१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८ः३० बजे, बाँकेकै नेपालगन्ज उपमहानगर–५ का ४४ वर्षीय पुरूषको बुधबार विहान ६ः३० बजे मृत्यु भएको छ ।

Advertisement

यसैगरी बाँकेकै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका–२ की ३० वर्षीया महिलाको मंगलबार राति ९ः३० बजे, बाँकेकै कोहलपुर–१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १ः३० बजे, कोहलपुर–११ का ४१ वर्षीय पुरूषको बुधबार विहान ४ बजे र कोहलपुर–१४ बाँकेकै ६४ वर्षीया महिलाको बुधबार बिहान ५ः३० बजे मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यस्तै, भेरीमा अस्पतालमै उपचाररत गुलरिया–९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका–६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८ः३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिकाका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।

यस्तै, बनगाड कुभिन्डे–६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८ः३० बजे मृत्यु भएको छ भने घोडाघोडी–१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४ः४५ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले बताए ।

योसँगै बाँकेमा जिल्ला भित्रका २ सय २ जना र जिल्ला बाहिरका १ सय ५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु स्वास्थ्य कार्यालयले बताएको छ ।