November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

नेपाल पक्षको निर्णय– विश्वासको मत दिन अनुपस्थित हुने, राजीनामा नदिने

बैठकपछि संचारकर्मीहरुलाई निर्णय सुनाउँदै नेता भीम रावल ।

काठमाडौँ, वैशख २७ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले सरकारलाई विश्वासको मतका लागि दिउँसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको यो समूहका सांसदको बैठकले यस्तो निर्णय गरेको बैठकपछि नेता भीम रावलले बताए ।
सोमबार प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । त्यसअघि बसेको नेपाल–खनाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो । सांसदहरुको बैठकपछि सिंहदरबारमा नै बसेको समूहको स्थायी कमिटीले अनुपस्थित रहने निर्णय गरेको हो । सांसदहरुको बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको बताए ।
‘नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि हामीले अनुपस्थित हुने निर्णय गरेका हौं’, नेता रावलले बैठकपछि भने, ‘संसद विघटन गर्ने, दल विभाजनको प्रयास गर्ने, भ्रष्टाचारको संरक्षण गर्ने र विश्वासको मत लिने एक दिनअघि संवैधानिक परिषद् बोलाएर नियुक्ति गर्ने प्रधानमन्त्री केपीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र देश र राज्यलाई कमजोर तुल्याउने हुँदा हामीले संसदको बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं ।’
उनले आफूहरुले सामूहिक राजीनामा दिने विषयमा पनि छलफल गरेको तर अहिलेलाई अनुपस्थित हुँदा पुग्ने निष्कर्षमा पुगेको पनि बताए ।

Advertisement