September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

अख्तियारद्वारा सर्भेक्षक विन्देश्वर साहविरुद्ध भ्रष्टाचार मुद्दा

Advertisement

नवलपरासी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पश्चिम नवलपरासीमा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement

आयोगले विशेष अदालत, काठमाडौँमा साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बिगो कायम गर्दै आरोपपत्र दर्ता गरेको हो । साहले २०४६ माघ १६ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिमा कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको तर, सोही अवधिमा उनको खर्च तथा लगानी भने ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ पुगेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा साहले जग्गा तथा सेयर खरिद, सवारीसाधन खरिद, ऋण तथा सापटी भुक्तानीलगायतका विभिन्न शीर्षकमा उक्त रकम खर्च तथा लगानी गरेको खुलेको छ । वैधानिक आयको तुलनामा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बढी खर्च तथा लगानी भए पनि त्यसको स्रोत खुलाउन नसकेको अख्तियारको दाबी छ ।

साहले आफूले आर्जन गरेको भनिएको गैरकानुनी सम्पत्ति लुकाउने उद्देश्यले श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत जग्गा र अन्य क्षेत्रमा लगानी गरेको आयोगले जनाएको छ । गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुमिन्त्रा देवीलाई समेत आयोगले प्रतिवादी बनाइएको छ ।